प्रदेश ७ मा जलविद्युत् आयोजना : सम्भावना भए पनि सरकारको बेवास्ता

    1233

    धनगढी । प्रदेश नम्बर ७ मा ३३ हजार मेगावाट बिजुली निकाल्न सकिने सम्भावना भए पनि ३० मेगावाटको चमेलियाबाहेक सरकारी स्तरबाट अर्को आयोजना शुरू हुन सकेको छैन । सरकारले यो क्षेत्रमा पञ्चेश्वर, कर्णाली, पश्चिम सेतीजस्ता ठूला र राज्यका लागि महत्त्वका परियोजनाहरू बनाउने घोषणा नगरेको भने होइन । तर, अहिले चमेलियाबाहेक अन्य कुनै पनि आयोजना बनाउन थालिएको छैन ।

    मुलुकमा अहिले झण्डै २ दर्जन जलविद्युत् योजना निर्माणाधीन हुँदा ७ नम्बर प्रदेशमा चमेलिया एक्लो हो । सरकारको ध्यान पुगेको भए निर्माणको तयारीमा रहेका २७ आयोजनामा कम्तीमा ५ आयोजना सुदूरपश्चिममा हुनुपर्ने यहाँका बासिन्दाको धारणा छ । साढे ६ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना घोषणा गरिएको दुई दशक पुग्दा पनि बन्ने कुनै छाँट देखिएको छैन ।

    महाकाली नदीमा पञ्चेश्वर जस्तै ६ सय ३० मेगावाट क्षमताको अर्को आकर्षक योजनाको सम्पूर्ण अध्ययन भएर पनि नेपाल–भारतबीच कूटनीतिक पहलको अभावमा काम अगाडि बढ्न सकेको छैन ।

    सरकारको तथ्याङ्क हेर्ने हो भने अछाममा २ सय मेगावाटको कर्णाली–७, दार्चुलाको चमेलियामा ८५ मेगावाटको छटीगाड, ३२ मेगावाटको छटीगाड–२, २० मेगावाटको लोअर चमेलिया, बझाङमा ८० मेगावाटको सेती नदी–३, बाजुरामा ४ दशमलव ५ मेगावाटको बडीगाड, बझाङमा १५ दशमलव ७ मेगावाटको कलङ्गा र १० दशमलव ७ मेगावटको सानीगाड, दार्चुलामा ५ मेगावाटको अपर नौगाड, डोटीमा ३ दशमलव ३ मेगावाटको कापडीगाड योजनाको विस्तृत अध्ययनका लागि सरकारले यसअघि नै अनुमति दिएको थियो ।

    यी सबै आयोजनाको केही काम शुरू हुन सकेको छैन । सरकारले मुलुकभर निर्माण अनुमति दिएका पछिल्ला ५८ योजनामध्ये दार्चुलामा ९ दशमलव ५ मेगावाटको नौगाड मात्रै परेको थियो । सरकारका कुनै राष्ट्रिय गौरवका आयोजना सुदूरपश्चिममा नहुनुले नै सरकारको यो क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रष्ट हुने यहाँको निजी क्षेत्र बताउँछ ।

    मुलुकको तीव्र शहरीकरणमा उपल्लो स्थानमा रहेको कैलालीमा विद्युतीय अभावमा नयाँ उद्योग खुल्ने सम्भावना पनि घटेका छन् । भएको एउटै उद्योग बासुलिङ्ग सुगर मिल बन्द छ । ‘एउटै आयोजना चमेलिया हो, त्यो पनि सन् २०११ को डिसेम्बरमा सक्लान् भनेको २०१७ सम्म लम्ब्याएका छन्,’ नेपाल उद्योग वाणिज्य महासङ्घ ७ नम्बर प्रदेशका अध्यक्ष शङ्कर बोगटीले भने ।

    चमेलिया जलविद्युत् आयोजनाका अनुसार अहिलेसम्म करीब ९७ प्रशितभन्दा बढी काम सकिएको छ । दार्चुला शिखर–४, बलाँचमा निर्माणाधीन विद्युत्गृह निर्माणको काम ९७ प्रतिशतभन्दा बढी सकिएको हो । कुनै अवरोध नआएर आयोजना अबको केही महीनाभित्रै सकिने अधिकारीहरू बताउँछन् । आयोजना सन् २००७ देखि निर्माण शुरू भएको हो । लक्ष्यभन्दा निकै लामो समयपछि आयोजना निर्माण सम्पन्न हुने भएको हो ।

    शुरुआतमा ८ अर्ब ५० करोडमा बन्ने भनेको आयोजनाको लागत बढेर १६ अर्बभन्दा बढी पुगेको छ । यसले वार्षिक सरदर १ सय ८४ दशमलव २ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ । आयोजनामा प्रभावित क्षेत्रका ७२ परिवारलाई मुआब्जासमेत दिइसकेको छ । चमेलियाको सुरुङ, पावर हाउस, ड्याम र ट्रान्समिसन लाइनको काम सकिएको छ भने अन्य काम सुस्ताएका कारण उक्त आयोजना कहिलेसम्ममा पूरा हुने हो कुनै टुङ्गो नै छैन ।

    वीरेन्द्र भट्ट

    स्रोत:अभियान