स्थानीयले हडपेको जग्गा फिर्ता लिन कुलमान घिसिङ आफैँ क्रेन लिएर बालाजु पुगेपछि…

    1510

    काठमाडौं । स्थानीय बासिन्दाले जग्गा हडपेपछि नेपाल विद्युत प्राधिकरणले राजधानीको बालाजुस्थित करोडौं मूल्यको ३६ रोपनी जग्गा आफनो कब्जामा लिएको छ ।

    त्यस क्षेत्रका स्थानीयले नेपाल विद्युत प्राधिकरणको जग्गा अतिक्रमण गरेर आफ्नो जग्गामा बाटो लैजाने सोही जग्गा प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको जग्गा नै कब्जा गरेपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको प्राधिकरणले जनाएको छ ।

    पाटन पुनरावेदन अदालतले विद्युत प्राधिकरणको पक्षमा फैसला गरेपछि कार्यान्वयनका लागि सुरक्षा दस्तासहित कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ क्रेन लिएर बालाजु पुगेका थिए । उनले प्राधिकरणको जग्गामा पिच गर्न लागेको भन्दै त्यसलाई रोकेका थिए ।

    प्राधिकरणको नाममा रहेको जग्गा स्थानीयले लामो समयसम्म कब्जामा लिएर भोगचलन गरेपछि  तत्कालिन पुनरावेदन अदालत पाटनमा मुद्दा परेको थियो ।

    अदालतले प्राधिकरणको जग्गा भएको फैसला गरेपछि कार्यान्वयनका लागि सुरक्षासहित ठुलो दस्ता बालाजु पुगेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले देशका अन्य भागमा अतिक्रमण गरिएका प्राधिकरणको जग्गा र अन्य भौतिक सम्पत्ति फिर्ता लिनका लागि काम सुरु गरिएको बताए ।

     स्रोत: बाह्रखरी