उपकार्यकारी निर्देशक र महाप्रबन्धकको दरबन्दी आधा कटौती

    2553

    ” नेपाल विद्युत् प्राधिकरण सांगठनिक पुनःसंरचना 

    NEA_Buldingकाठमाडौं, ६ चैत – प्रभावकारी परिणाम आउन नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्यमान सांगठनिक संरचना पुनःसंरचना गरी उपकार्यकारी निर्देशक र महाप्रबन्धक दरबन्दी घटाएर पाँचमा झारेको छ ।महाप्रबन्धक तथा उपकार्यकारी निर्देशकको दरबन्दी १० जना रहेदै आएकोमा यसलाई आधा घटाइएको हो ।
    सांगठनिक सुधारका लागि सञ्चालक टेकनाथ आचार्यले तयार गरेको प्रतिवेदन मंगलबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेको छ । दुईवटा विभागलाई गाभेर एउटा बनाइएको छ । हाल दुई जना महाप्रबन्धक दरबन्दी रहेको वितरण तथा ग्राहक सेवा केन्द्र पूर्व र वितरण तथा ग्राहका सेवा पश्चिमलाई गाभेर एउटै बनाउने, अर्थ, प्रशासन र आन्तरिक लेखापरीक्षणमा तीनवटा महाप्रबन्धक दरबन्दी रहेकोमा यसलाई पुनःसंरचना गरेर एउटैबाट सञ्चालन गर्ने, उत्पादन सञ्चालन तथा सम्भार र उत्पादन तथा निर्माण विभागलाई गाभेर एउटै बनाउने, ग्रिड विकास र प्रसारण तथा प्रणाली सञ्चालनलाई गाभ्ने छ ।
    प्राधिकरण व्यवस्थापनले यसलाई चाँडै कार्यान्वयनमा ल्याउने भएको छ । यसअघि ऊर्जामन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा प्राधिकरणको सांगठनिक पुनःसंरचना गरिएको थियो । हाल प्राधिकरणमा ९ हजार कर्मचारी कार्यरत छन् ।
    महाप्रबन्धक र उपकार्यकारी निर्देशकको संख्या भद्दा भएको र यसबाट परिणाम आउन नसकेको बताउँदै प्राधिकरणका अध्यक्षसमेत रहेका मुख्यसचिव लीलामणि पौडलले ठूला पद घटाएर तल्लो तहमा दरबन्दी थपिने जानकारी पत्रकार सम्मेलनमा दिएका थिए । उनले माथिल्लो तहलाई घटाएर तल्लो तहमा कर्मचारीको दरबन्दी बढाउने बताएका थिए ।

    यसैगरी सञ्चालक समितिले चुहावट घटाउने निर्देशिका पनि पारित गरेको छ । सोही बैठकले खिम्ती र भोटेकोसी जलविद्युत् आयोजनाका लगानीकर्तासँग भएको विद्युत् खरिद सम्झौताको पुनरावलोकन गर्ने निर्णय गरेको छ । गत वर्ष पनि विद्युत् प्राधिकरणले खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडसँग पीपीए दरमा परिमार्जन गर्न पठाएको प्रस्ताव अस्वीकार गरेको थियो । यी दुवै आयोजनासँग भएको महँगो पीपीएले गर्दा विद्युत् प्राधिकरणलाई धराशायी बनाएको आरोप सम्बद्ध प्रवद्र्धकमाथि लाग्दै आएको छ ।

    प्रस्तुति: कारोबार