Generation License for Rudi & Ghalemdi Hydro

    1105

    Ministry of Energy has issued generation license  to Rudi Khola “A” & Ghalemdi Hydroelectric project. Capacity of Rudi Khola “A”Hydroelectric Project is 6.8 MW and developed by Bindhabasini Hydropower Development Company Pvt.Ltd. Similarly Capacity of Ghalemdi Hydroelectric Project 4.0 Mw and developed by Cemat Power development Co. Pvt. Ltd.

    Cemat Power development Co claimed that four Megawatts of power would be generated by the project which will be constructed at a cost of Rs. 168 million.

    रुदी र घलेम्दीलाई विद्युत् उत्पादन अनुमति

    पुस १६, काठमाडौं । ऊर्जा मन्त्रालयले दुई आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । मन्त्रालयले मङ्गलवार  ६ दशमलव ८ मेगावाटको रुदीखोला ‘ए’ जलविद्युत् आयोजना र ४ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनीयर गोकर्णराज पन्थले अभियानलाई बताए । उनले भने, ‘ती दुवै आयोजनाले आगामी ३ वर्षभित्र विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’ रुदीखोला ‘ए’ जलविद्युत् आयोजना बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले निर्माण गर्न लागेको हो । सो आयोजना निर्माणका लागि रू. १ अर्ब १५ करोड लाग्ने  कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले अभियानलाई बताए । उनका अनुसार रुदीखोला ‘ए’ले २ वर्षभित्रै विद्युत् उत्पादन गर्ने छ । उत्पादन अनुमति पाइसकेकाले विद्युत्गृहलगायतको निर्माण कार्य अब शुरू गरिने उनले जानकारी दिए ।

    रुदीखोला ‘ए’बाट उत्पादन हुने विद्युत् खरीद–विक्रीका लागि नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच गतवर्षको माघ २८ मै सम्झौता भइसकेको छ । विद्युत् खरीद सम्झौता (पीपीए) अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा खरीद गर्नेछ । आयोजनाको कुल लागतमध्ये ३० प्रतिशत शेयर लगानीकर्ताहरूबाट र ७० प्रतिशत बैङ्कबाट जुटाइने आचार्यले बताए । उनका अनुसार ‘नेपाल बैङ्कको नेतृत्वमा आयोजनामा बैङ्कहरूले लगानी गर्ने भएका छन् ।’ सो आयोजनालाई १ वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी उत्पादन अनुमति दिइएको पन्थले बताए । उनले भने, ‘संरक्षण क्षेत्रभित्र परेकाले सो आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्छ ।’

    कास्कीको मिजुरेडाँडा र लमजुङको पसगाउँ गाविस हुँदै बग्ने रुदीखोलाको पानी उपभोग गरी आयोजनाबाट विद्युत् उत्पादन गरिने भएको छ । आयोजनाबाट उत्पादित विद्युत् ३३ केभीको प्रसारण लाइन निर्माण गरी २२ किलोमिटर टाढा रहेको पोखराको लेखनाथ सबस्टेशनमा जडान गरिनेछ । आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाले आयोजनामा लगानी गर्ने इच्छा देखाएमा शेयरमा प्राथमिकता दिने आचार्यले बताए । उनले भने, ‘आयोजना निर्माणमा स्थानीय बासिन्दा उत्साहित छन् ।’ सो आयोजना नेपालका प्रतिष्ठित उद्यमी, व्यवसायी, समाजसेवी, इञ्जिनीयर र व्यवस्थापनविज्ञहरूको लगानीमा निर्माण हुन लागेको हो ।

    यसैगरी घलेम्दी खोला जलविद्युत् आयोजना सिमाट पावर डेभलपमेण्ट कम्पनीले निर्माण गर्न लागेको हो । म्याग्दी जिल्लामा रहेको यो आयोजनाले ३ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट उत्पादित विद्युत् खरीदविक्रीका लागि विद्युत् प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ । सो आयोजना निर्माणका लागि रू. ५६ करोड लाग्ने अनुमान गरिएको कम्पनीले बताएको छ । सो आयोजनालाई १ वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी उत्पादन अनुमति दिइएको पन्थले बताए । सो आयोजनाबाट उत्पादित विद्युत् ३ दशमलव २ किलोमिटर टाढा रहेको दाना सबस्टेशनमा जडान गरिने भएको छ । संरक्षण क्षेत्रभित्र परेकाले सो आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने पन्थले बताए ।

    सरकारले मङ्गलवारसम्म १ सय १५ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिइसकेको छ । ती सबै आयोजनाबाट २ हजार ७ सय ३९ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने जानकारी पनि विभागले दिएको छ । उत्पादन अनुमति पाएकामध्ये हालसम्म ३७ आयोजनाबाट ६ सय ९३ मेगावाट विद्युत् उत्पादन भइसकेको छ । बाँकी ७८ आयोजना निर्माणाधीन अवस्थामा छन् । पन्थले भने, ‘निर्माणाधीन आयोजना पूरा भएमा थप २ हजार ४७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।’

    Source : Abhiyan