चिनियाँ लगानीमा १६४ मेगावाटको कालिगण्डकी गर्ज निर्माण हुने, सरकारले लाइसेन्स दिन प्रक्रिया अघि बढायो

    1669

    काठमाडौं । सरकारले १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि कालिगण्डकी गर्ज हाइड्रोपावर प्राइभेट लिमिटेडलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइेन्स) दिनका लागि प्रक्रिया अघि बढाएको छ ।

    आयोजनाको लाइसेन्स दिन विद्युत विकास विभागले ३५ दिने सुचना प्रकाशित गरेको छ । आयोजनाबाट प्रतिकुल असर पर्ने भए लिखित राय सुझाव दिन विभागले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । कालिगण्डकी गर्ज हाइड्रोपावरले ३५ दिनपछि विद्युत उत्पादनको लाइसेन्स पाउने छ ।

    काम सुरु गरेको ५ वर्षमा आयोजनाबाट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ८३ करोड १० लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ र गर्ज बनाउन २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) स्वीकृतिको क्रममा रहेको कम्पनीले जनाएको छ ।

    आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रो पावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । आयोजनाको मुख्य स्वामित्व चिनियाँ कम्पनीको हुने छ भने लगानी जुटेपछि काम सुरु हुने  कम्पनीले जनाएकाे छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्रीका लागि कम्पनीले नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव गरेको छ । २०.५ मेगावाट क्षमताका ८ वटा टर्वाइन जडान गरिने र आयोजनाको ठाडो उचाई (हेड) ५२७ मिटर हुने छ ।

    म्याग्दी र मुस्ताङ भएर बग्ने कालिगण्डकी नदीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले वि.सं २०६३ मा आयोजनाको सर्वेक्षण भएको थियो । वि.सं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्द भएको थियो । पुरानो लाइसेन्स रद्द भएपछि नेपाल कालिगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।

    मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना नदिको वहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको हो ।

    आयोजना बेनी–जोमसोम कच्ची राजमार्गको ३६ किमी माथि बाँदरजुंग भिरको पारीपट्टी रहेको छ । कम्पनीले आयोजनाको विद्युत गृह समेत आवस क्षेत्रको लागि तीन सय रोपनी भन्दा बढी जग्गा खरिद गरिसकेको छ। मुहानदेखि पावरहाउस क्षेत्रसम्म मोटर बाटोको पहुँच रहेको आयोजनाबाट उत्पादित विद्युत १ किलोमिटर माथि दानामा निर्माणाधिन २२० केभीए कालीगण्डकी करिडोर प्रसारणलाईन सवस्टेसनमा जोडिने छ ।

    :विकासन्युज