एनआरएनएले १ करोड एलईडी बल्ब वितरण गर्ने

    1179

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुई वर्षभित्र नेपालमा १ करोड एलईडी लाइट वितरण गर्ने भएको छ । तीन सय मेगावाटको विद्युत् बचत गर्ने उद्देश्यसहित एनआरएनले १ करोड एलईडी वितरण गर्ने भएको हो । एनआरएनएले आइतबार काठमाडौंमा आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन अन्तर्गतको दिगो ऊर्जा विषयक सत्रमा एनआरएनए ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा. बद्री केसीले दुई वर्षभित्र सरकारसँगको सहकार्यमा १ करोड एलईडी वितरण गर्न लागेको जानकारी दिए ।

    लाइट वितरणपश्चात मुलुकमा ३ सय मेगावाट विद्युत् बचत हुने र अहिलेको परम्परागत ४० वाट लाइट बराबरको विद्युत्को क्षमता १० वाटको एलईडीबाटै हुने भएकोले यसबबाट उल्लेख्य फाइदा पुग्ने संयोजक केसीले जानकारी दिए । स्थानीय शिक्षक र आमा समूहको सहभागितामा एलईडी लाइटको प्रयोगको जनचेतना जगाउने बताउँदै कृषि, उद्योग, विकासका साथै अन्य पूर्वाधार विकासका लागि विद्युत्को खपत बढाउन सकिने बताए ।

    कार्यक्रमका एसियन इष्टिच्युट अफ टेक्नोलोजीका डा. राममनोहर श्रेष्ठले नेपालमा ऊर्जाको स्रोत, प्रयोग तथा खरिदमा विविधता ल्याउनुपर्ने बताए । उनले छिमेकी मुलुक भारतबाट मात्रै ऊर्जाको खरिद गर्दा नेपालले विभिन्न समयमा अप्ठेरो परिस्थितिको सामना गर्नुपरेको बताए ।

    वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक रामप्रसाद धितालले नेपालमा अहिले ७४.५ प्रतिशत मानिस परम्परागत उर्जामा आधारित रहेको बताउँदै पछिल्लो समयमा ‘क्लिन इनर्जी’को क्षेत्रमा नेपालले उल्लेखनीय कार्य गरेको बताए । अहिले प्रविधिको विकाससँगै ठूला आयोजनाहरू निर्माण गर्न मुलुक सफल भएको बताए । न्यूयोर्क पावर सिटी अथोरिटीका सूर्य लम्सालले नेपालले सोलार र हाइड्रोपवरलाई मिश्रण गरेर ऊर्जा उत्पन्न गर्न सके मुलुक विकसित हुने बताए । काठमाडांै विश्वविद्यालयका प्राध्यापक सुनिल लोहनीले मुलुकमा उर्जाको विकास गर्न प्रविधिसँगै दक्ष जनशक्तिको उत्पादन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी एनआरएनएका प्रतिनिधिहरूले जलविद्युत्मा लगानी गर्नका लागि झन्झट रहेको र लगानी गर्नका लागि घुस खुवाउनुपर्ने अवस्था रहेको बताउँदै यसका लागि सहज तरिकाले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

    स्रोत:कारोबार