Basis of PTA implementation

    1295

    पीटीए कार्यान्वयनको आधार बनाउनुपर्छ

    झन्डै १७ वर्षपछि नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) मा प्रारम्भिक हस्ताक्षर भएको छ । २ देशका ऊर्जामन्त्रीले हस्ताक्षर गरेलगत्तै यो सम्झौता कार्यान्वयनमा आउनेछ । पीटीएपछि नेपालबाट भारतमा र भारतबाट नेपालमा बिना अवरोध र कर  नतिरी विद्युत् व्यापार गर्न बाटो खुलेको छ । यसअघि सन् १९९७ मा पनि २ देशबीच पीटीए भएको थियो ।
    तत्कालीन प्रतिनिधिसभाले पीटीएमा पानीको विषयसमेत उल्लेख भएको भन्दै अनुमोदन नगरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । पछिल्लोपटक जलविद्युत् विकास गर्न अन्तर्राष्ट्रिय चासो बढ्दै गएपछि नेपाललाई पनि बजारको व्यवस्था गर्न ठूलो दबाब भयो र सन् २०१० मा नेपालले पीटीएका लागि भारतसँग प्रस्ताव ग¥यो । नेपालले आफ्नो तर्फबाट पीटीएको मस्यौदा भारत सरकारलाई पठायो । उसले ४ वर्षपछि गत जुन १६ तारिखमा आफ्नो तर्फबाट पीटीएको मस्यौदा नेपाललाई पठायो । त्यो मस्यौदा आएपछि पीटीएका विषयमा विभिन्न चर्चा भए ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला डेढ महिनाभित्र पीटीए गर्ने प्रतिबद्धता जनाएका थिए । उनले जनाएको सोही प्रतिबद्धताअनुसार २ देशबीच पीटीएमा प्रारम्भिक हस्ताक्षर भएको छ । पीटीएमा नेपालले प्रस्ताव गरेअनुसार सहमति भएको छ । पीटीए भारतको भन्दा पनि नेपालको चासोको विषय भएकाले बारम्बार नेपालले भारतलाई पीटीएका लागि आग्रह गर्दै आएको थियो । यसबीचमा भारतले आफ्नो देशका जीएमआर इनर्जी लिमिटेड र सतलज जलविद्युत् निगम लिमिटेडलाई भारतमा बिजुली बिक्री गर्न अनुमति दिइसकेको छ । मन्त्रीस्तरीय सम्झौता भएपछि मात्र पीटीए कार्यान्वयमा आउनेछ । सम्झौता कार्यान्वयनमा आएपछि नेपालमा आएर जलविद्युत्मा लगानी गर्ने प्रवद्र्धकलाई बजारको समस्या रहेन् ।
    उसले बिना अवरोध कर नितिरी नेपालबाट सहज रूपमा भारतमा र भारतबाट नेपालमा विद्युत् आयात निर्यात गर्न सक्ने छ । यो नेपालका लागि ठूलो सफलता हो । पीटीएका विषयमा कारोबारले सरोकारवालासँग गरेको कुराकानीको सारसंक्षेप ः

    hydro_expert

    पीटीए नेपालको हितमा छ
    डा. प्रकाशशरण महत

    पूर्वऊर्जामन्त्री
    पीटीए नेपालको हितमा भएको मैले पाएको छु । नेपालले गरेको अधिकांश प्रस्तावलाई भारतले स्वीकार गरेकाले यो नेपालको हितमा छ । अब नेपालबाट कुनै पनि प्रवद्र्धकले चाहेको बेला बिना–अवरोध भारतमा निकासी गर्न सक्ने वातावरण बनेको छ । पीटीएले क्षेत्रीय विद्युत् व्यापारलाई पनि सुनिश्चित गरेकाले यसबाट पनि नेपाललाई नै फाइदा पुग्ने देखिन्छ । बजारको सुनिश्चितता भएकाले अब नेपालले विद्युत् उत्पादन बढाएर आन्तरिक खपत पूरा गरेपछि निकासी गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने देखिन्छ । बजारको सुनिश्चितता भएकाले लगानीकर्ता आउने सम्भावना धेरै छ । बजारको समस्या नभएपछि अब विद्युत् क्षेत्रमा लगानी बढाउन आवश्यक छ । पीटीए भएर मात्र हुँदैन, यसबाट विद्युत् प्रवाह गर्न अन्तरदेशीय प्रसारण लाइनको काम द्रुत गतिमा अघि बढाउनुपर्छ । तत्काल भारतबाट विद्युत् आयात गर्ने अवस्था रहेकाले अब हाम्रो प्राथमिकता प्रसारणलाइन निर्धारित समयमा सक्नेतर्फ हुनुपर्छ । यस्तै आयोजना विकास समझौता (पीडीए) पनि चाँडै हुनुपर्छ ।
    ……………..
    विद्युत् व्यापार कम्पनी गठन हुनुपर्छ
    खड्गबहादुर विष्ट

    अध्यक्षः स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान)
    २ देशबीच गत बिहीबार भएको पीटीएको इपानले स्वागत गरेको छ । इपानले पीटीए चाँडै कार्यन्वयनमा ल्याउन सरकारसँग माग गरेको छ । पीटीएको पहिलो चरणको काम सम्पन्न भएको छ । यसलाई कार्यान्वयनमा ल्याउन राज्यले मन्त्रिपरिषद्बाट अनुमोदन र २ देशबीच मन्त्रीस्तरीय सम्झौता आवश्यक छ । पीटीएले जलविद्युत्मा लगानीको ढोका खोलेको छ । यो सकारात्मक कुरा हो । इपानले लामो समयदेखि पीटीए हुनुपर्नेमा अडान राख्दै आएको हो । पीटीएपछि नेपालमा लगानीको वातावरण बनेको छ । पीटीए कार्यान्वयनमा ल्याउन तत्काल आन्तरिक काम पूरा गर्नुपर्ने हुन्छ । अब विद्युत्को कारोबार गर्न विद्युत् व्यापार कम्पनी र प्रसारणलाइन विकास प्राधिकरण गठन हुनुपर्छ । पीटीएले यसको आवश्यकता अझ बढाएको छ । यस्तै, लामो समयदेखि विचाराधीन अवस्थामा रहेका विद्युत् नियमन आयोग र विद्युत् ऐन व्यवस्थापिकाबाट अनुमोदन हुनुपर्छ ।

    …………………….
    कर्मचारीतन्त्रमा सुधार आवश्यक छ
    ज्ञानेन्द्रलाल प्रधान
    सभापति, जलविद्युत् समिति, नेपाल उद्योग वाणिज्य महासंघ
    २ देशबीच पीटीएले लगानीको ढोका खुलेको छ । यो देश र लगानीकर्ताका लागि सकारात्मक कुरा हो । यद्यपि पीटीए भएर मात्र नेपालमा लगानी आउँदैन । लगानी ल्याउन वातावरण बनाउन आवश्यक छ । पीटीए कार्यान्वयनका लागि पहिला नेपालमा सार्वजानिक–निजी–साझेदारीमा स्वतन्त्र ऊर्जा व्यापार कम्पनी स्थापना गर्नुपर्छ । पीटीएले बजार सुनिश्चित गर्ने भएकाले वैदेशिक लगानी ओइरिनेछ । लगानी बढाउनलाई नेपालका कर्मचारीतन्त्रमा व्यापक सुधार आवश्यक छ । यसलाई अझ बढी व्यवस्थित बनाउन कर्मचारीतन्त्रमा सुधार नआउने हो भने पीटीए कार्यान्वयन हुँदैन र पीटीए गर्नुको अर्थ रहँदैन । वर्षातको बिजुली बढी भएर खेर जाने भन्दै विद्युत् प्राधिकरणले ठूला आयोजनासंग विद्युत् खरिद सम्झौता (पीपीए) गर्न मानेको छैन । बढी भएको बिजुली बेच्नका लागि बजारको सुनिश्चितता भइसकेपछि अब उसले धमाधम पीपीए गर्नुपर्छ । विद्युत् प्राधिकरणले पीपीए नगर्ने हो भने पीटीए कार्यान्वयन हुन सक्दैन ।

    …………………

    पीटीए सम्झौताले निजी क्षेत्र उत्साहित
    डा. सुवर्णदास श्रेष्ठ
    निवर्तमान अध्यक्ष इपान
    ऊर्जा मन्त्रालयको क्रियाशीलतामा गत साता नेपाल र भारतबीच भएको ८ बुँदे विद्युत् व्यापार सम्झौता (पीटीए) लाई निजी क्षेत्रले निकै सकारात्मक रूपमा लिएको छ । विद्युत्को बजार सुनिश्चित भएकाले स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । अहिले पीटीएको प्रारम्भिक मस्यौदामा मात्र सम्झौता भएकाले अब यसलाई थन्काएर राख्ने मात्र नभई तत्काल मूल सम्झौतामा हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याउनुपर्छ ।
    यो सम्झौता नेपाल र भारत दुवै देशका लागि निकै लाभदायिक हुनेछ । भारतबाट अहिले विद्युत् आयात गरी नेपालको लोडसेडिङसमेत कम गर्न सकिनेछ । यस सम्झौताले भारतमा मात्र     नभएर सार्क राष्ट्रका लागि नै ठूलो संभावनाको ढोका खुलेको छ । बंगलादेश, श्रीलंकालगायतका देशमा समेत विद्युत् निर्यात गर्न सकिने भएको नेपालको उत्पादन हुने विद्युत्को बजार सुनिश्चित भएको छ । बंगलादेशले नेपालबाट ५ हजार मेगावाट विद्युत् खरिद गर्ने सम्बन्धमा समेत बाटो खुलेको छ । जलविद्युत्को ठूलो संभावना हँुदाहँुदै पनि बजार निश्चित नहँुदा अहिलेसम्म नेपालले फाइदा लिन सकेको छैन । अब नेपालले लगानीमैत्री वातावरण बनाउने हो भने नेपालमा ठूलो विदेशी लगानी आउनेमा कुनै शंका छैन । सम्झौतामा कानुनी आधारमा २ देशबीच समान रूपमा विद्युत् आदान–प्रदानको गर्ने विषयमा स्पष्ट हुनुपर्छ ।
    सम्झौता तत्काल कार्यान्वयनमा ल्याउनका लागि विद्युत् व्यापार कम्पनी, प्रशारणलाइन कम्पनी चाहिन्छ । प्रसारणलाइन प्रयोग गर्दाको शुल्क (ह्लिङ चार्ज) को विषयमा समेत अहिले नै स्पष्ट हुनुपर्छ ।

    Source : Karobar Daily