सुरुङ बन्यो, बाँध निर्माण हुन थप ५ वर्ष लाग्ने

1172

फाल्गुन १३, २०७५

भेरी–बबई डाइभर्सनको सुरुङ चैतसम्म छेडिने

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ चैतभित्रै छेडिने भएको छ । ‘टिबिएमको प्रयोग गरी चौबिसै घन्टा सुरुङ निर्माण कार्य भइरहेकाले लक्षित समयभन्दा एक वर्षपहिले नै सुरुङको ब्रेक–थु्र हुने भएको हो,’ आयोजनाका निर्देशक सञ्वीब बरालले भने, ‘०७६ को चैतमा सक्ने लक्ष्य थियो, तर सुरुङ निर्माण ०७५ कै चैतमा सकिने भएको छ ।’ तर, बाँध र विद्युत्गृह बन्न थप पाँच वर्ष लाग्ने भएकाले त्यस अवधिसम्म सुरुङ प्रयोगविहीन हुनेछ ।

राष्ट्रिय गौरवको सूचीमा रहेको सो आयोजनाको सुरुङ खन्न नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरिएको छ । कुल १२.२ किलोमिटर सुरुङमध्ये ११.२ किलोमिटर सुरुङ छेड्ने काम पूरा भएको आयोजना निर्देशक बरालले बताए ।

सुरुङको ब्रेक थ्रु चैतभित्रै हुने भए पनि ‘फिनिसिङ’ कार्यका लागि अर्को ६ महिना (असोज)सम्म लाग्न सक्ने आयोजनाका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले बताए । २१ जेठ २०७२ बाट ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कुभेक)ले सुरुङ खन्न सुरु गरेको थियो । अमेरिकी प्रविधिअनुसार चीनमा निर्माण भएको टिबिएम प्रविधिको प्रयोग गरेर २०७४ कात्तिकदेखि सुरुङ खन्न थालिएको थियो । सुरुङ निर्माणका लागि जलस्रोत तथा सिँचाइ विभागले कुभेकसँग १५ माघ २०७१ मा १० अर्ब ५६ करोड ९७ लाख रुपैयाँबराबरको खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार सुरुङ निर्माण १५ चैत २०७६ सम्ममा सक्नुपर्ने थियो ।

सुरुङ बनिसकेपछि मात्रै बाँधको ठेक्का  
चैतमै सुरुङको ब्रेक थ्रु भए पनि आयोजनाको दोस्रो प्याकेजअनुसार सिभिल (बाँध, विद्यृत् गृह, सर्ज ट्र्याक) निर्माण गर्न छिटोमा असार मसान्तसम्म ठेक्का लाग्न सक्ने उपाध्यायले बताए । त्यसका लागि प्रिक्वालिफिकेसन नोटिस जारी गरिएको छ ।

सुरुङ बन्यो, पानी फर्काउने बाँध छैन 
आयोजनाको सुरुङबाट अबको ७ महिनाभित्र पानी लैजान सकिने गरी निर्माण पूरा हुनेछ । तर, सो सुरुङमा पानी पठाउन भेरी नदीमा बनाइने भनिएको पुलसहितको ब्यारेज भने अहिलेसम्म पनि निर्माण सुरु भएको छैन । बाँध निर्माण हुन थप ५ वर्ष लाग्नेछ ।

त्यस्तै, बहुउद्देश्यीय यो आयोजनाबाट ४६.८ मेगावाट विद्युत् उत्पादनसमेत गरिने योजना छ । तर, विद्युत्गृह निर्माणका लागि हालसम्म ठेक्का लागेकै छैन । त्यसो हुँदा आयोजना पूरा हुन लाग्ने समय अर्थात् झन्डै ५ वर्षसम्म सुरुङ प्रयोगविहीन अवस्थामा रहनेछ । ‘यो आयोजनाका चुरे पर्वत शृंखलाको दरार पर्न सक्ने क्षेत्रमा पर्छ र यसमा टिबिएम प्रविधिको नेपालमै पहिलोपटक प्रयोग गरिएको हो,’ हाइड्रोलोजिस्ट उपाध्यायले भने, ‘टिबिएममार्फत चुरेको सो संवेदनशील क्षेत्र छेड्न नसकिएको भए सुरुङ नै रद्द गर्नुपर्ने हुन सक्ने अनुमान गरेर सुरुङ बनाइएको रहेछ ।’

३६ अर्ब ८० करोड लागत 
यस आयोजनाले जलस्तर बढी भेरी नदीमा १५ मिटर अग्लो पुलसहितको ६ ढोके बाँध (ब्यारेज) बनाई जलस्तर कम भएको बबई नदीमा ४० क्युमेक्स (घनमिटर प्रतिसेकेन्ड) पानी पुर्‍याउने लक्ष्य छ । सो पानीलाई ४.२ मिटर चौडाइको १२.२ किलोमिटर लामो हेडरेस सुरुङमार्फत पावर हाउसमा पुर्‍याई ४६.८ मेगावाट बिजुली निकालिनेछ । विद्युत्गृहबाट निस्किएको पानी बबई सिँचाइ आयोजनाको संरचनामा पुर्‍याई बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ ।

आयोजनाको कुल लागत झन्डै ३६ अर्ब ८० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट दुई जिल्लामा पुग्ने सिँचाइ सुविधाबाट २ अर्ब ९० करोड रुपैयाँको कृषि उत्पादन बढ्ने र बिजुलीबाट ४ अर्ब ३ करोड रुपैयाँ गरी वार्षिक कुल ७ अर्ब २ करोड रुपैयाँ राज्यलाई लाभ हुने अनुमान गरिएको छ । आयोजनाको इकोनोमिक इन्टरनल रेट अफ रिटन १६.६५ प्रतिशत रहने अनुमान गरिएको छ ।

सुरुङ भासिने आशंकाले अन्य काममा ढिलाइ गरियो : प्रवीणराज अर्याल
प्रवक्ता, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय 

भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ चुरे पहाडको ‘सफ्ट रक’ भएको भू–भागमा पर्छ । सुरुङ खनिने भू–भागनजिक एउटा खोला पनि बहन्छ । यस्तो ठाउँमा सुरुङ खन्दा माटो भासिएर रोक्नै नसक्ने गरी सुरुङमा आउने सम्भावना पनि थियो । यस्तो ठाउँमा टिबिएम मेसिन निकाल्न नसक्ने गरी फस्न पनि सक्थ्यो । सुरुङ सफल नभए बाँध र पावरहाउस निर्माण गरे पनि प्रयोगमा ल्याउन समस्या हुन सक्थ्यो । यही सम्भावना आकलन गरेर पहिलो प्राथमिकता सुरुङलाई दिइयो । अब, सुरुङ सफल हुन लागेको छ । अन्य काम पनि अघि बढ्छ । ‘जनताको जलविद्युत् कार्यक्रम’मा पनि यो आयोजना समावेश भएकाले कम्पनी मोडलमा कसरी अघि बढाउने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ ।

कामचलाउ योजना : अस्थायी बाँध बनाएर पानी छिराउनेबारे छलफल  
बाँध, विद्युत्गृहलगायत संरचनाको अभावमा आयोजनाको सुरुङ ५ वर्षसम्म प्रयोगविहीन हुने देखिएपछि आयोजनाले अस्थायी बाँध बनाएर सुरुङलाई प्रयोगमा ल्याउने अवधारणा अघि बढा एको उपाध्यायले बताए ।

‘बबई सिँचाइ आयोजनाले आफ्नो संरचना बनाइसकेको छ,’ उनले भने, ‘भेरीमा अस्थायी बाँध बनाएर ४० क्युमेक्समध्ये १५ क्युमेक्ससम्म पानी हिउँदमा सुरुङमार्फत सिँचाइकै लागि लैजान सकिन्छ कि भनेर अध्ययन सुरु गरिएको छ ।’ सो अवधारणाअनुसार हाल सर्वेक्षण अध्ययन भइरहेको र अध्ययनपछि मात्रै त्यसका आर्थिक लागत र मुनाफालगायतका बारेमा थाहा हुने उनको भनाइ छ ।

 

पुष्प कोइराला
स्रोत:नयाँ पत्रीका