रोल्वालिङ पुग्न २ किमि केबलकार बन्ने

    1356

    दोलखा-विगू गाउँपालिका–१ छेतछेतदेखि गौरीशंकर गाउँपालिका–९ रिकुसम्म केबलकार निर्माण हुने भएको छ । रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्नका लागि केबलकार बन्ने भएको हो । बाँध निर्माणका लागि ढुवानी र आवतजावत गर्न सहज हुने गरी २.४ किलोमिटर केबलकार बनाउन लागेको हो ।
    अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । आयोजनाको पहुँचमार्गका रूपमा प्रयोग गर्न सडकभन्दा सस्तो र छिटो हुने भएकाले केबलकार निर्माणमा ध्यान दिएको हो । केबलकार बनाउन कम्पनीले टेण्डरसमेत आह्वान गरिसकेको छ । अहिले ३ विदेशी कम्पनी अन्तिम छनोटमा परेका छन् । अस्ट्रियाको डोप्पेलमयर सेइलबह्नेन, स्विटजरल्यान्डको बार्थोलेट मस्चिनेन्बउ एजी र फ्रान्सको पोमा एसएएस छनोटमा परेका छन् ।

    ठेक्का पाउने कम्पनीले केबलकार डिजाइन, निर्माण, आपूर्ति, ढुवानी, जडान, परीक्षणलगायत काम गर्नुपर्नेछ । साथै, निर्माणपछि ६ महिना सञ्चालन तथा मर्मतसमेत गर्नुपर्ने सर्त छ । ठेकेदार कम्पनीको अन्तिम छनोट गर्न आगामी कात्तिक २२ गते (सेप्टेम्बर ६, २०१८) बैठक बस्ने जनाइएको छ । केबलकार निर्माण गर्न १ लाख १८ हजार अमेरिकी डलरको सीमा तोकिएको छ । अपर तामाकोसीले नै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत छ ।
    आयोजना निर्माण क्रममा निर्माण सामग्री, उपकरण ढुवानी र कामदार आउजाउ केबलकारबाटै गर्ने गरी यसको निर्माण गर्न लागेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । छेतछेतदेखि रिकूसम्मको उचाइ करिब ६ सय मिटर रहेको छ । केबलकार छेतछेत–सिमीगाउँ हुँदै रिकू जोडिने छ ।
    आयोजनाको बाँध निर्माणमा आवश्यक ठूला उपकरण भने हेलिकोप्टरबाट ढुवानी गर्ने योजना छ । आयोजना निर्माणपछि केबलकार ती गाउँमा आउजाउ गर्ने मार्गका रूपमा प्रयोग हुनेछ । केबलकारकै माध्यमबाट रिकू र सिमी गाउँलाई पर्यटकीयस्थल बनाउन सकिने सम्भावना पनि छ । केबलकार निर्माणपछि रोल्वालिङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने प्रवक्ता न्यौपानेले बताए ।
    आयोजनाको रिकू गाउँभन्दा केही माथि रोल्वालिङ खोलामा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युत्गृहसम्म पानी खसालिने छ । विद्युत्गृह तामाकोसीको बाँधभन्दा केही माथि निर्माण हुने उनले बताए । यसअघि उक्त खोलाबाट ल्याइएको पानी तामाकोसीको जलाशयमा मिसाएर १७ करोड युनिट थप विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।
    लामाबगरमा रहेको तामाकोसीको बाँधभन्दा रोल्वालिङको बाँधमाथि रहेकाले थप अध्ययनबाट अर्को आयोजना बन्ने भएपछि छुट्टै आयोजना बनाउन लागेको हो । २२ मेगावाटको विद्युत्गृहबाट निस्केको पानी तामाकोसीको जलाशयमा मिसाइनेछ । यसो हुँदा चिलिमेबराबरको आयोजना बन्ने र तामाकोसीमा ऊर्जासमेत थपिनेछ । क्यू ४० मा निर्माण हुने आयोजनाको लागत करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । २०७५ को मध्यतिर सुरु गरेर ४ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य छ ।
    आयोजनाको नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको इन्जिनियरिङ कम्पनीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) को काम गर्दै आएको छ । कम्पनीले ८ महिनासम्ममा डीपीआर बुझाउने कार्य तालिका छ ।
    रोल्वालिङ क्षेत्रको पदमार्ग जाने मार्ग पनि यही हो । छेतछेतदेखि सुरु हुने पदमार्गको सिमीगाउँसम्मकै यात्रा ठाडो उकालो क्षेत्र हो । केबलकार बनेपछि रोल्वालिङ क्षेत्रको भ्रमणमा जाने पर्यटकको उल्लेख्य वृद्धि हुने बेदिङकी पर्यटन व्यवसायी निमबुटी शेर्पाले बताइन् ।

    :कारोबार