मोलुङ जलविद्युत्को परीक्षण प्रसारण

    1283

    मंसिर २५, २०७४-जिल्लाकै पहिलो जलविद्युत्का रूपमा निर्मित मोलुङ जलविद्युत् आयोजनाको परीक्षण प्रसारण थालिएको छ । ७ मेगावाट क्षमता भएको आयोजनाको आइतबारदेखि परीक्षण प्रसारण सुरु गरिएको हो ।

    परीक्षण प्रसारण १५ दिनसम्म हुने र त्यसपछि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ । परीक्षण प्रसारणको क्रममा कुनै समस्या देखिएमा त्यसलाई सुधार गरी सञ्चालनमा ल्याइनेछ ।

    आयोजनाको टर्बाइनमा पानी खोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र पूर्वसांसद रामहरि खतिवडाले परीक्षण प्रसारणको औपचारिक सुरुवात गरे । मोलुङ गाउँपालिका ७ मोलुङ खोलामा निर्मित आयोजना सदरमुकामस्थित सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । त्यसका लागि आवश्यक काम भइसकेको आयोजनाले जनाएको छ ।

    आयोजना निर्माणका लागि एनएमबी बैंकलगायतको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ । वर्षामा ७ मेगावाट र हिउँदमा ४ मेगावाट उत्पादन हुनेछ । मोलुङ जलविद्युत् सञ्चालनमा आएपछि जिल्लालाई लोडसेडिङ मुक्त बनाउन स्थानीयले माग गरेका छन् ।

    स्रोत:कान्तिपुर