अपर तामाकोसीको २७.५ मिटर पेनस्टक जडान

1075

श्रावण ७, २०७६

अपर तामाकोसी जलविद्युत् आयोजनाको ६ सय ८२ मिटर लामो ठाडो सुरुङमध्ये २७.५ मिटरमा पेनस्टक पाइप जडान भएको छ । आयोजनाका दुई सुरुङमध्ये ३ सय ७२ मिटर गहिराइको माथिल्लो तल्लो ठाडो सुरुङमा २० मिटर पाइप जडान गरिएको छ । त्यस्तै, ३ सय १० मिटर गहिराइको तल्लो ठाडो सुरुङमा ७.५ मिटर पाइप जडान गरिएको आयोजना प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ४ सय ५६ मेगावाटको आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यलाई सबैभन्दा जटिल मानिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजना निर्माणस्थलको निरीक्षणपछि आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई चैतको दोस्रो साताभित्र पहिलो युनिट (७६ मेगावाट) उत्पादन गर्न निर्देशन दिएका छन् । ‘त्यसपछि बाँकी ५ युनिटबाट आर्थिक वर्ष ०७६/७७ (असार)भित्र जसरी पनि विद्युत् उत्पादन सुरु गर्नुपर्छ,’ उनले भने, ‘समय तालिकामा हाम्रो मुख्य चासो हो, गम्भीर बन्नुहोस्, सँगै मिलेर निर्माण सम्पन्न गरौँ, यसले सबैलाई खुसी बनाउँछ, तालिकाअनुसार निर्माण सकेनौँ भने सबैलाई तनाव हुन्छ ।’ आयोजना समयमै सम्पन्न गर्न जनशक्ति बढाएर बिहान, दिउँसो, राति तीन सत्रमा काम गर्न पनि कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीहरूलाई निर्देशन दिए ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट २ को ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले नै गरिरहेको छ । तल्लो ठाडो सुरुङमा भने लट ३ को ठेकेदार अस्ट्रियन कम्पनी एड्रिज हाइड्रोले काम गरिरहेको छ । यसअघि दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएका टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एड्रिजलाई दिइएको हो । तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङलगायत काम गर्न ३ सय ६५ घन्टा लागेको थियो ।

अहिले चौथो पाइप जडान गर्दा १ सय २८ घन्टा मात्र लागेको छ । कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एड्रिज हाइड्रोलाई निर्देशन दिए ।

टेक्सम्याकोका सिइओलाई आयोजनास्थलबाटै घिसिङको फोन 
माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कोलकातास्थित टेक्सम्याकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरे । ‘टेक्सम्याकोले कुनै पनि काम समय तालिकाअनुसार गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन,’ फोनमा सिइओ अग्रवाललाई उनले भने, ‘व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस् ।’ यही गतिमा काम भए पाइप जडान सक्न नै झन्डै ८ महिना लाग्ने अनुमान आयोजना पक्षले गरेको छ ।

०६७ साउनबाट निर्माण सुरु गरिएको आयोजना ०७२ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य थियो । तर, ०७२ वैशाख १२ को भूकम्पपछि ठेकेदारको गैरजिम्मेवारीपन, सडकको दुरावस्था, नाकाबन्दीले पेट्रोलियम पदार्थको आपूर्तिमा पारेको समस्या, मधेस आन्दोलनलगायत कारण झन्डै डेढ वर्ष काम भएन । ०७५ को पुसदेखि सञ्चालनमा ल्याउने नयाँ लक्ष्यका साथ ०७३ मंसिरबाट काम सुरु गरिए पनि लट २ को ठेकेदार टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित हुन पुग्यो । हाल असार मसान्तभित्र आयोजना सञ्चालनमा ल्याउने नयाँ तालिकाअनुसार काम भइरहेको छ ।

हालसम्म आयोजनाको विद्युत्गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा रहेको र प्रसारण लाइन निर्माणसमेत अन्तिम चरणमा रहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सिइओ विज्ञानप्रसाद श्रेष्ठले बताए ।

 

स्रोत:नयाँपत्रीका