ठेकेदार भागेपछि विद्युत् बन्द

1245

 श्रावण ७, २०७६

जुम्ला-सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत् उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको, खबर सुनेका छौं । तर जुम्लामा भने, उपभोक्ता समिति र ठेकेदारको लापरबाहीले गर्दा सदरमुकाम खलंगामा बत्ती अनिश्चितकालका लागि नआउने औपचारिक रूपमै घोषणा गरिएको छ । कर्णालीकै पहिलो नगरपालिका चन्दननाथ तथा साविकको कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलंगा विगत ९ महिनादेखि अन्धकारमा छ भने उद्योग कलकारखाना, इलेक्टोनिक पसल तथा सञ्चारमाध्यमहरू ठप्प छन् ।

साना जलविद्युत् उपाभोक्ता समितिले विभिन्न मितिमा बत्ती बाल्ने आश्वासन दिएर उपभोक्तलाई भ्रममा पारेको थियो । २२० किलोवाट क्षामताको विद्युत्बाट खलंगाका २२ हजार उपभोक्ता लाभान्वित भएका थिए । नयाँ मेसिन जडान गर्ने नाममा भारतीय पासी शुभकामना जेभी गेटा निर्माण कम्पन्नी र ठेगेदार पुस्कर लाल दुबईले बदमासी गरेपछि आइतबार जुम्लाको सर्वपक्षीय बैंठकले खलंगामा बत्ती नआउने औपचारिक घोषणा गरेको हो ।

पुस महिनादेखि नयाँ मेसिन जडान गरिरहेको निर्माण कम्पन्नीले बत्ती बाल्न नपाउँदै असक्षमताका कारण मेसिनको बोरिङ बिग्रिएपछि सातामा एक दिने आउने बत्ती पनि ठप्प भयो । उपभोक्ताले चौतर्फी विरोध गरेपछि आइतबार सर्वदलीय बैठक बस्यो । साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढ्थापाले नयाँ मेसिन जडान गर्ने क्रममै बोरिङ बिग्रिएपछि ठेकेदार पुस्करलाल दुबईले जुम्ली जनताले मेसिन बनाउन नसकेको भन्दै कालोमोसो दल्ने बेइजत गर्ने डरले गएको बताए । उनले थपे, “ठेकेदारकोे सम्झौता मिति पनि सकिसकेको छ ।” तर सुरक्षा चुनौती देखाउँदै आउन नमानेपछि खलंगामा विद्युत् अनिश्चित भएको हो । प्रतिनिधिसभा सांसद गजेन्द्र महतसहितको उपस्थितिमा बसेको बैठकले विभिन्न मितिमा बत्ती आउँछ भनेर जनतालाई भ्रममा पारेर असफल भएका छांै । अब बत्ती नै नआउने निश्चित भएपछि उपभोक्तलाई ढाँट्नुभन्दा भित्री कुरा सार्वजनिक गरी बत्ती नआउने औपचारिक घोषणा भएको हो । ठेकेदारलाई जुम्ला बोलाउने र मेसिन मर्मतका लागि धनगढी लैजाने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । ठेकेदार जुम्ला नआए वर्षौंसम्म बत्ती नआउने निश्चित छ । आए पनि कम्तीमा ६ महिना बढी लाग्ने छ ।
भारतीय राजदूतावासको सहयोगबाट २ करोड ६३ लाख ७७ हजार, साविकको जिविस जुम्लाको टेन्डर स्वीकृत रकम ३ करोड ८ लाख र साना जलविद्युत् उपभोक्ता समितिको ४५ लाख २२ हजार ९ सय गरी जम्मा ३ करोड ८ को लागतमा नयाँ मेसिन जडान गर्न लागिएको थियो । बत्ती नबाल्दै ठेकेदारले १ करोड ८६ लाख ८५ हजार ३ सय ४० रुपैयाँ भुक्तानी लिइसकेको छ भने लिन बाँकी १ करोड २२ रहेको छ । निर्माण कम्पन्नीको भन्दा टेन्डर स्वीकृत ४५ लाख बढी गरी उपभोक्ता समितिले दिएको ४५ लाख बजेट सिधै भ्रष्टाचार भएको स्थानीयले बताएका छन् ।

२२ हजार उपभोक्ता आक्रोसित

आजभोलि बत्ती बल्छ भन्दै ९ महिनादेखि अँध्यारो सहेर बसेका खलंगाका २२ हजार उपभोक्ताले फेरि बत्ती नबल्ने निर्णय सुनेपछि आक्रोसित भएका छन् । स्थानीय रतन खत्रीले बैठकमै उपभोक्ता समितिका अध्यक्ष र जिसस प्रमुख लालबहादुर सार्कीप्रति आक्रोस व्यक्त गरे । २२ हजार उपाभोक्तामाथि ठेकेदार र उपभोक्ता समिति मिलेर अन्याय गरेको उनले आरोप लगाए । ९ महिनादेखि भ्रममा पारेर अन्ततः बत्ती नआउने घोषणा गर्नु उपभोक्तामाथि सरासर कमिसनको खेल भएको समेत खुलासा गरे ।

अनुमानित बजेटभन्दा टेण्डर स्वीकृत गरी ४५ लाखमाथि भ्रष्टाचार भएको र त्यसको सत्य छानबिन गर्न समेत सुझाव दिए । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले ब्रान्डेड मेसिन नभएका कारण नगरबासीले धोका खानुपरेको बताए । बीचमै गएको ठेकेदारलाई पनि बोलाउने र नआए कालोसूचीमा पार्ने, धरौटी जफत गर्ने, हदैसम्मको कारबाही गर्ने समेत उल्लेख गरे । खलँगाबासीले विद्युत् बाल्न नपाउँदा पाएको पीडाको जवाफ दिने कसैसँग क्षमता नरहेको बताए ।
जिजस प्रमुख लालबहादुर सार्कीले ठेकेदारलाई केही दिनभित्र जिल्लामा ल्याउने आश्वासन दिए । ठेकेदार काम गर्दिन भनेर उम्कन नपाउने समेत उल्लेख गरे । प्रजिअ दुर्गा बञ्जाडेले उपभोक्ता समितिमा भइरहेको कमिसन बारे परेको उजुरी माथि अख्तियारले छानविन गरिरहेको बताइन् । ठेकेदारलाई सुरक्षा दिने र खलंगा उज्यालो बनाउने अभियानमा प्रशासन लागिपरेको उनले दाबी गरिन् । होटल व्यवसायी, इलेक्टोनिक पसल सबै बन्द हुँदा जुम्लाको अर्थतन्त्रमा ठूलो असर परेको छ भने बैंकिङ काम पनि ठप्प भएका छन् ।

 

स्रोत: गोर्खापत्र