जलविद्युत् सेयर किन्न भीड

    961

    जिल्लामा निर्माण हुन लागेका जलविद्युत् आयोजनाको सेयर प्रभावित बासिन्दालाई खुलाएपछि आवेदन फाराम भर्नेको भीड लागेको छ । साढे १० मेगावाटको तल्लो मोदी ‘बी’ जलविद्युत् आयोजनासहित युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वसाधारणलाई सेयर खुला गरेको हो ।

    कुस्मामा शाखा रहेको देव विकास बैंकबाट मात्रै सेयर फाराम खरिद गर्न र भर्न मिल्ने भएकाले बिहानैदेखि बेलुकी अबेरसम्म भीड लाग्ने गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत प्रत्यक्ष प्रभावित पर्वतका बासिन्दालाई लक्षित गरी १ सय दरका ११ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि गत भदौ २८ देखि असोज ९ सम्म खुला गरेको छ । सेयर खुला भएको दिनदेखि नै भीड बढेको बैंकका प्रबन्धक केदारनाथ आचार्यले बताए । ‘आइतबार मात्रै पाँच सयभन्दा बढीले फाराम भरे,’ उनले भने, ‘सेयर किन्न सर्वसाधारणको उत्साह देखिएको छ ।’ बैंकमा जम्मा भएका फाराम व्यवस्थित गर्न थप कर्मचारी मगाएको उनले बताए ।

    सेयरमा देखिएको उत्साहले हौसला मिलेको युनाइटेडका स्थानीय सञ्चालक उपेन्द्र गौतमले बताए । ‘जनताको उत्साह देखेर अचम्ममा परेका छौं,’ उनले भने, ‘अन्तिमसम्ममा मागेभन्दा धेरै बढी आवेदन पर्ने देखियो ।’ अहिले खुला गरिएको सेयर युनाइटेड मोदी हाइड्रोपावर कम्पनीसँगै नयाँ बन्न लागेको तल्लो मोदी जलविद्युत् आयोजनासमेतका लागि हिस्सेदार हुने कम्पनीले जनाएको छ ।

    पर्वतमा निर्माणाधीन आयोजनामध्ये सर्वसाधारणका लागि सेयर खुला गरेको यो पहिलो हो । यसअघि निर्माण सम्पन्न दुई र निर्माणाधीन दुई आयोजनाले प्रभावित सर्वसाधारणका लागि सेयर बिक्री गरेका छैनन् । आफ्नै जिल्लामा उत्पादन हुन लागेको आयोजनामा लगानी गर्न पाउँदा अपनत्व बढ्ने भएकाले सकेजति लगानी गर्न लागेको स्थानीयले बताएका छन् । ‘जलविद्युत्मा गरेको लगानी कहिल्यै खेर जान्न भन्ने सुनेको छु,’ सेयर खरिद गर्न आएका राम्जाका यादव पौडेलले भने, ‘सकेको लगानी गरे पछिका लागि आम्दानीको बाटो होला भन्ने छ ।’

    युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आउँदो मंसिरदेखि मोदीखोलामा साढे १० मेगावाटको दोस्रो जलविद्युत् आयोजना निर्माण गर्दै छ । यसअघि २०६९ मा निर्माण भएको तल्लो मोदी ‘ए’ को उपलब्धिसँगै वातावरणीय प्रभाव मूल्यांकन सुरु गरेको कम्पनीले भौगोलिक अध्ययन सकेर पहिलो आयोजना नजिकैबाट दोस्रो आयोजना सुरु गर्न लागेको हो । दोस्रो आयोजनाका लागि सम्पूर्ण तयारी सकेर सर्वसाधारणसँग लगानीका लागि सेयर बिक्री गरेको हो । आयोजनाको लागत २ अर्ब ४५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

    स्रोत : कान्तिपुर