पाँच जलविद्युतले सेयर निष्कासन गर्दै

    2644

    पाँच वटा जलविद्युत् कम्पनी र एउटा लघुवित्त संस्थाले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्दै छन् । आईपीओ निष्कासन अनुमतिका लागि ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ । ती कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ६० करोड ३० लाख रुपैयाँ बराबरको ६० लाख ३० हजार कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । सामान्यतया अनुमति पाएको मितिले २ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

    हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, आँखुखोला जलविद्युत् कम्पनी, अरुण काबेली पावर र छ्याङ्दी हाइड्रो पावर कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । तीमध्ये अरुण काबेलीबाहेक ४ वटा कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।

    जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीयलाई न्यूनतम १० प्रतिशत सेयर वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार ती कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्न लागेका हुन् । अंकित मूल्य प्रतिसेयर १ सयका दरले हिमालयन पावर पार्टनरले १० करोड ६५ लाख, नेपाल हाइड्रो डेभलपरले २ करोड ६० लाख, आँखुखोला जलविद्युत् कम्पनीले ८ करोड र छ्याङ्दी हाइड्रो पावर कम्पनीले ८ करोड १० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन् । अरुण काबेली हाइड्रोपावर कम्पनीले भने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्दै छ । यसका लागि कम्पनीले गत असार २८ मा बोर्डमा आवेदन दिएको छ । सेयर निष्कासनका लागि यो कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले पेस गरेका कागजातमाथिको अध्ययन अन्तिम चरणमा रहेकाले छिट्टै निष्कासन अनुमति दिइने बोर्ड स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘अधिकांश प्रक्रिया पूरा भएकाले छिट्टै अनुमति पाउन सक्छ ।’

    यस्तै समता माइक्रोफाइनान्स वित्तीय संस्थाले ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार ८ सय कित्ता सेयर निष्कासन गर्दै छ । एनआईबीएल क्यापिटल मार्केटलाई सेयर रजिस्ट्रार तथा बिक्री प्रबन्धक नियुक्त गरेको यो कम्पनीले निष्कासन अनुमतिका लागि गत भदौ ५ मा बोर्डमा आवेदन दिएको थियो । गत आर्थिक वर्षमा १२ वटा संस्थाले साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ), ३ वटाले थप निष्कासन (एफपीओ), ३७ वटाले हकप्रद निष्कासन र एउटाले सामूहिक लगानी योजना निष्कासन गरी ५३ वटा संस्थाले १८ अर्ब ९९ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गरेको बोर्डले जनाएको छ । गत आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजारमा १५ वटा नयाँ कम्पनी थपिएका छन् ।  हाल सेयर बजारमा सूचीकृत कम्पनी संख्या २ सय २९ छ ।

    स्रोत : कान्तिपुर