तल्लो मोदीमा ११ बैंकद्वारा २ अर्ब ६४ लगानी सम्झौता

    2570

    ” तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य “

    काठमाडौं, २३ साउन-

    modi-tunnel-1तल्लो मोदी जलविद्युत् आयोजना (२० मेगावाट) मा नेपाल इन्भेटमेन्ट बैंकको अगुवाइमा १० वटा बैंक तथा विकास बैंकले २ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
    आयोजनाको प्रवद्र्धक मनाङ ट्रेडलिंक प्रालि र सहवित्तीयकरणमा सहभागी बैंकबीच कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै आयोजनाले पूरा लगानी पाएको छ । अब आयोजना निर्माण हुने निश्चित भएको छ । आयोजनाको कुल लागत ३ अर्ब ५१ करोड रुपैयाँ छ ।
    आयोजनामा  सनराइज, ग्रान्ड, सिद्धार्थ, नेपाल क्रेडिट एन्ड कमर्स, कमर्ज एन्ड ट्रस्ट, मेगा र ग्लोबल आईएमई बैंकले लगानी गर्नेछन् । यस्तै एचएन्डबी, कैलाश र एनआइडीसी डेभलपमेन्टले पनि लगानीको सहमति जनाएका छन् । आयोजनामा ७५ प्रतिशत कर्जा र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
    हाल मनाङले स्वपुँजीबाट आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल साढे ४ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १५ प्रतिशत प्रगति गरिसकेको छ ।  आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । आयोजनमा केएल दुगड ग्रुप, मुरारका ग्रुप, देवनरा ग्रुप र हाइड्रो सलुसन समूहको लगानी छ । आयोजनाले स्थानीय बासिन्दाका लागि माछापालन फार्मसमेत निर्माण गर्ने भएको छ ।
    “बैंकसँगै लगानी सम्झौता भएकाले अब आयोजना निर्माणले गति लिनेछ,” कम्पनीका प्रबन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधानले कारोबारसँग भने, “आगामी तीन वर्षभित्र आयोजना निर्माण पूरा हुनेछ ।” उनका अनुसार आयोजनाबाट वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
    उनले आयोजनाबाट प्रभावित स्थानीयका लागि आयआर्जन कार्यक्रमका साथै स्कुल, खानेपानीजस्ता पूर्वाधार निर्माणमा सहयोग गर्ने बताए ।
    नेपाल विद्युत् प्राधिकरण र आयोजनाको प्रवद्र्धक मनाङबीच विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने बिजुली प्राधिकरणले सुख्खायामको चार महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने छ ।
    आयोजनाको विद्युत्गृह पर्वत जिल्लाको चुवा गाविसमा पर्छ । सोही आयोजनाको तल युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले १० मेगावाटको तल्लो मोदी १ विद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली मोदीखोला सबस्टेसनस्थित केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । यस्तै विद्युत् प्राधिकरणले १४ मेगावाटको मोदी आयोजना निर्माण गरिसकेको छ भने विद्युत् प्राधिकरण र कोरियाको केवाटरको संयुक्त लगानीमा माथिल्लो मोदी (४७ मेगावाट) आयोजना निर्माण हुँदैछ ।

    प्रस्तुति: कारोबर