अपरमादी आयोजनाको चार्जिङ सफल

    1036

    मंसिर १३, २०७३- २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत् आयोजनाको उपकरण चार्जिङ सफल भएको छ । सिल्दुजुरे र नामार्जुनमा रहेको आयोजनाले गत शुक्रबार बिहान ८ देखि आइतबार बिहान १० बजेसम्म केन्द्रीय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गरी उपकरण चार्ज गरेको थियो ।

    ४८ घण्टाको चार्जिङमा कुनै समस्या नदेखिएको र अब छिट्टै विद्युत् उत्पादन परीक्षण गरिने आयोजनाले जनाएको छ । ‘विद्युत् गृहभित्रका कन्ट्रोल प्यानल, ट्रान्सफर्मरलगायत उपकरण सफलतापूर्वक चार्जिङ भए,’ आयोजना कोअर्डिनेटर राजकुमार बरालले भने, ‘अब परीक्षण उत्पादनको तयारीमा छौं ।’ उनका अनुसार मंसिरभित्रै उत्पादन परीक्षण गरी व्यावसायिक उत्पादन थालिनेछ ।

    आयोजनाले साढे १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् गृहमा पुर्‍याई चार्जिङ गरेको थियो । प्रसारण लाइनका ३२ टावर र विद्युत् गृहभित्रका कुनै पनि उपकरणमा विद्युत् चुहावटलगायत समस्या नआएको बरालले बताए ।

    भूकम्प, नाकाबन्दी, मादीमा आएको बाढीले काममा ढिलाइ भएर गत अप्रिलमा सकिनुपर्ने आयोजना हालै सकिएको हो । सुरुमा ५ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने भनिएकामा विभिन्न कारणले ६ अर्ब ६० करोड पुगिसकेको र अझै बढ्न सक्ने अनुमान आयोजनाको छ ।

    Source: Kantipurdaily