विद्युत् उत्पादन हुने जिल्लामै विद्युत् कटौती

    3022

    असोज ११, लमजुङ । विद्युत् उत्पादन हुने जिल्लाका रूपमा परिचित लमजुङमा पछिल्लो १ सातादेखि अघोषित रूपमा भइरहेको विद्युत् कटौतीले उपभोक्तालाई सास्ती भएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको लमजुङ वितरण केन्द्र उदिपुरमार्फत आपूर्ति हुने विद्युत् जुनसुकै बेला अवरुद्ध हुन थालेपछि उपभोक्ता मर्कामा पर्न थालेका हुन् । विद्युत् नियमित उपलब्ध नहुँदा विद्यार्थीलाई बढी समस्या भएको छ ।

    असोज लागेसँगै जिल्लाका अधिकांश निजी तथा सरकारी विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू विद्युत् कटौतीले बढी मर्कामा परेको जनविकास उमावि बेँसीशहरका प्राचार्य रत्नमान श्रेष्ठले बताए । बिहान, बेलुका र दिउँसो पटकपटक हुने विद्युत् कटौतीले लमजुङका सञ्चार गृहसमेत प्रभावित बनेका छन् । पटकपटकको विद्युत् कटौती हुँदा उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा असर पुगेको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार श्रेष्ठले गुनासो गरे ।

    यता, विद्युत् प्राधिकरणअन्तर्गतका कर्मचारीले भने विद्युत् उत्पादन र खपतको सन्तुलन नमिल्दा यस्तो समस्या आएको बताएका छन् । जिल्लामा २० मेगावाट क्षमताको ट्रान्सफर्मर आवश्यक भए तापनि हाल मध्यमस्र्याङ्दी जनविद्युत् आयोजनाबाट १२ मेगावट क्षमताको ट्रान्सफर्मर सञ्चालनमा छ ।

    केही समयअघि ५ मेगावाट क्षमताको ट्रान्सफर्मरले काम चलाए पनि पटक–पटकको पहलपछि १२ मेगावाटको ट्रान्सफर्मर ल्याइएको लमजुङ विद्युत् उपभोक्ता संस्थाका इञ्जिनीयर हरिश्चन्द्र पण्डितले बताए । ‘विद्युत् उत्पादन र खपतको सन्तुलन नमिलेसम्म यस्तो समस्या आइरहन्छ,’ उनले भने, ‘जिल्लामा २० मेगावाट क्षमताको ट्रान्सफर्मर अति आवश्यक भए पनि १२ मेगावाट क्षमताकोले काम चलाउनुपर्दा समस्या हुँदै आएको छ ।’

    प्राधिकरणअन्तर्गतका कर्मचारीका अनुसार जिल्लामा विद्युत्को ८० प्रतिशत समस्या आपूर्तिको सन्तुलन नमिल्दा हुने गरेको छ भने २० प्रतिशत समस्या प्राकृतिक विपत्तिका कारण हुने गरेको छ । लमजुङमा विद्युत् उत्पादनका लागि विभिन्न आयोजना तीव्रगतिमा अघि बढिरहेका छन् । ७० मेगावाट क्षमताको नेपालकै दोस्रो ठूलो मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनालगायत ठूला र लघु जलविद्युत् आयोजना जिल्लामा थुप्रै छन् । यहाँ ६ आयोजना निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेका छन् ।

    हाल मर्स्याङ्दी कोरिडोरअन्तर्गत मस्र्याङ्दी नदीमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना, ङ्यादीमा ३० मेगावाटको न्यादी आयोजना निर्माणाधीन छ । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ यही भदौ दोस्रो साताबाट विद्युत् उत्पादन थाल्ने तयारीमा छ । यस्तै, पूर्वी लमजुङको दोर्दी कोरिडोरमा ४९ दशमलव ६ मेगावाटको सुपरदोर्दी ‘ख’, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ निर्माणाधीन अवस्थामा छन् । उक्त कोरिडोरमै १० दशमलव ३ मेगावाटको दोर्दी–१ आयोजना विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएर निर्माणको क्रममा छ । मिदिम कोरिडोरमा ३ मेगावाटको मिदिमखोला (करापु) आयोजना निर्माण भइरहेको छ । यहाँ निर्माण भएका र निर्माणाधीन आयोजना सबै पानीको बहावमा आधारित (रन अफ द रिभर) प्रणालीका हुन् ।

    स्रोत : अभियान