राहुघाट जलविद्युत आयोजना पुनः अघि बढाउने तयारी

    2486
     नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना पुनः निर्माणको प्रक्रिया सुरु गरेको छ ।
    यसअघि भारतीय ठेकेदारसँग भएको ठेक्का सम्झौता तोडेर विद्युत प्राधिकरणले आयोजनाको क्षमता ८ मेगावाट बढाएर इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्राक्ट (ईपीसी) प्रारूपमा आयोजना अघि बढाउन लागेको हो । आउँदो सुख्खायामदेखि निर्माण थाल्ने तयारी प्राधिकरणको छ । हाल आयोजनाको काम अघि बढाउन सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल एकमुष्ठ गर्नका लागि ईपीसी बोलपत्र आब्हान गरेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफलेले बताए । आयोजनाको काम अब नयाँ प्रक्रियाबाट सुरू हुने उनको भनाई छ । प्राधिकरणले आगामी भदौ अन्तिम अर्थात अगस्ट २२ तारिखलाई बोलपत्र पेस गर्ने अन्तिम मिति भनेको छ ।
    यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आयोजनाको काम अघि बढाएको काफ्लेले जानकारी दिए । आईभीआरसीएलसँग सम्झौता हुँदा आयोजनाको जडित क्षमता ३२ मेगावाट थियो । पहिला नै राहुघाटलाई ४० मेगावाटमा डिजाइन गर्न सकिने देखाएको प्राधिकरणले क्षमता बढाएको हो । आयोजना ६ वर्ष ढिलाइ भएकाले  लागत पनि बढ्ने छ । सम्झौताअनुसार आयोजना सन् २०१३ को अन्तिममा सकिनुपर्ने थियो । तर आईभीआरसीएलले काम गर्न नसकेपछि आयोजना अनिश्चित बन्दै आएको थियो ।
    आयोजना भारतको निर्यात–आयात (एक्जिम) बैंकको सहुलियत कर्जामा निर्माण हुन लागेको हो । उसले ४ करोड डलर ऋण लगानी गर्ने भनिसकेको छ । आयोजनालाई लगानी जुटिसकेको छ । आयोजना निर्माणका लागि बाँकी विद्युत प्राधिकरण र सरकारले लगानी गर्नेछन् । सहुलियत कर्जामा दिएकाले सिभिल, परामर्श सेवा, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल लगायत सम्पुर्ण ठेक्का भारतीय कम्पनीबीच नै प्रतिस्पर्धा हुनेछ ।
    ठेक्का सम्झौता भएको ५ वर्षसम्म पनि आईभीआरसीएलले आयोजनाको सिभिल निर्माण नगरेपछि प्राधिकरणले ठेक्का तोडेको हो । आइभीआरएलले सबैभन्दा कम अर्थात २ अर्ब ७९ करोड ७८ लाख रुपैयाँमा राहुघाटको सिभिल निर्माणको प्रस्ताव गरेको थियो । आईभीआरसीएलको खुदसम्पत्ति ऋणात्मक हुनुका साथै नगद प्रवाहमा समस्या रहेको छ ।
    पुरानो अध्ययनले आयोजनाबाट वार्षिक १८ करोड ३० लाख गिगावाट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम भए ऊर्जा उत्पादन बढ्नेछ । आयोजना नदीको बहावमा आधारित छ । यसको सम्भाव्यताको अध्ययन सन् १९९८ मा भई सन् २००८ मा सम्भाव्यताको अद्यावधिक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
    आयोजना म्याग्दीको पिप्ले, झी र डिगम गाविसमा पर्छ ।  जिल्लामा पर्ने सो आयोजना पोखरादेखि ८३ किलोमिटर टाढा छ । आयोजना वाग्लुङ जोमसोम राजमार्गको गलेश्वरमा रहेको छ । राहुघाट कालिगण्डकीको सहायक नदी हो । आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।
    स्रोत : १२ खरी