अपर तामाकोसीको सेयर काठमाडौंबाट पनि भर्न पाउने

    1535

    अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) दोलखावासीले काठमाडौंबाट पनि भर्न पाउने भएका छन् । काठमाडौबाट पनि निश्चित अवधि र स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।
    बोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिए । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीको स्थानीयको सेयरका बारेमा कम्पनीले बिहीबार काठमाडौंमा छलफल कार्यक्रम गरेको थियो ।
    धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको उपस्थितिमा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसद, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, पूर्वसांसद तथा अन्य राजनैतिक दलका प्रमुखको समेत सहभागीता थियो । आयोजनाको आयोजना भएको बैठकमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका प्रमुखसमेत थिए ।
    अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सीईयो श्रेष्ठका अनुसार दोलखामा रहेका बंैकका शाखा भएका २१ वटा स्थानबाट सेयर आवेदन संकलन हुने र बैंक नभएका स्थानमा घुम्ती संकलन केन्द्रको ब्यवस्था गर्ने निर्णय भएको छ । श्रेष्ठका अनुसार यसको अतिरिक्त विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवक परिचालन गरिने भएको छ ।
    “डिम्याट अनिवार्य नभई स्वेच्छिक हुने व्यवस्था गरिएको छ,” उनले भने, “३ वर्षको लकिङ अवधिपछिको कारोबारका लागि डिम्याट अनिवार्य हुने भएकाले तत्कालका लागि डिम्याट स्वेच्छिक गरेको हो ।” प्रत्येक आवेदकको बैंक खाता अनिवार्य नगरी आवेदकले इच्छाएको परिवारको कुनै १ सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने ब्यवस्था गर्न धितोपत्र बोर्डलाई अनुरोध गरेको छ । यसमा धितोपत्र बोर्डका अध्यक्ष पनि तामाकोसीको हकमा सकारात्मक रूपमा लिएको बताएको बैठकमा सहभागी विगू गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले जानकारी दिए ।
    बिहीबार दोलखाका सबै माननीय सांसद, पूर्वमन्त्री, जिल्लाका प्रमुख राजनीतिक दल, गाउँपालिका र नगरपालिकाका अध्यक्ष, नेपाल विद्युत् प्राधिकरण, बोर्ड र नागरिक लगानी कोषका प्रमुखसहितको बैठकले आईपीओ निष्कासन सहज गराउने निर्णय गरेको हो । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजनाको हालसम्म ९६ प्रतिशत प्रगति भएको छ ।
    तामाकोसीको आईपीओ साउन १६ देखि भदौ १४ गतेसम्म निष्कासन हुनेछ । प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
    पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन हुने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउने कोषले जानकारी दिएको छ ।

     

    -कारोबार