घाटामा रहेको आँखुखोला जलविद्युतले आउदो ५ वर्षमा पनि लाभांश नदिने, बिक्री होला त आईपीओ ?

    2311

    निजी क्षेत्रबाट निर्माण भएको मध्ये सबैभन्दा महंगो आँखुखोला जलविद्युत आयोजना भएको छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको ८.४ मेगावाटको आँखुखोला १ आयोजनाको लागत प्रतिमेगावाट झण्डै २९ करोड रुपैयाँ पुगेको छ । यो आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेको र भएका मध्ये सबैभन्दा महंगो आयोजना हो ।

    आयोजना निर्माण शुुरु हुँदा त्यसबेला निजी क्षेत्रबाट निर्माण हुने आयोजनाको लागत प्रति मेगावाट १५ करोड रुपैयाँ हारहारी थियो । तर आयोजनाको लागत प्रतिमेगावाट १० करोड रुपैयाँ बढाइएको छ । आयोजनाको लागत ८० देखि १ अर्ब रुपैयाँ बढेको देखिएको छ ।

    साधारण सेयर आईपीओ निष्कासन गर्नका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा ८.४ मेगावाटको आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लागेको उल्लेख गरिएको छ । आयोजनाको लागत अप्रत्यासित बढेकाले आउँदो ५ वर्षमा पनि लगानीकर्ताले प्रतिफल नपाउने भएका छन् ।

    यद्यपी चालु आर्थिक वर्षदेखि कम्पनी नाफामा जाने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षमा कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ नाफा गर्ने अनुमान गरेको छ । आगामी ३ वर्ष अर्थात ०७७/०७८ मा कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ । ३ वर्षपछि पनि कम्पनीको संचित नोक्सान ७ करोड ९० लाख रुपैयाँ हुने छ । चालु आवमा कम्पनीको संचित नोक्सान १६ करोड ६३ लाख रुपैयाँ हुने अनुमान छ । नाफा बढ्ने भएकाले संचित नोक्सान क्रमश घट्दै जानेछ ।

    कम्पनीले आयोजना सञ्चालनमा आएको ९ वर्षमा मात्र बैंकको कर्जा तिर्नेछ । ३ वर्षपछि पनि कम्पनीको ऋण १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ हुने छ । चालु आर्थिक वर्षमा कम्पनीको ऋण १ अर्ब २४ करोड १२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

    आउँदो ५ वर्षदेखि लगानीकर्तालाई लाभांश वितरणको अवस्थामा पुर्याउने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरु बताउँछन् । आयोजनाको लागत बढी भएको स्वीकार गर्दै उनले ५ वर्षपछि लाभांश दिने वातावरण बनाइरहेको योजना सुनाए । जलविद्युत आयोजना दीर्धकालिन प्रकृतिको भएकाले लगानीकर्ताले प्रतिफल पाउन केही समय कुर्नुपर्ने उनको भनाई छ ।

    ३ वर्षपछि कम्पनीले बिजुली बिक्रीबाट वार्षिक २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ । चालु आवमा कम्पनीले २७ करोड ६७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । ३ वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ २० पैसा पुग्ने अनुमान छ । प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ हुने देखिएको छ ।

    कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ ।

    स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ ।

    २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।

    विकासन्युज