हिउँदमा लोडसेडिङ घटाउने योजना भारतले दिने विद्युत्मा निर्भर

    2268

    नेपालको विद्यमान लोडसेडिङ घटाउने योजना भारतले दिने विद्युत्को मात्रामा निर्भर हुने भएको छ । पछिल्लो एक वर्षयता नेपालको आन्तरिक उत्पादनबाट राष्ट्रिय प्रसारण लाइनमा उल्लेख्य मात्रामा विद्युत् थपिन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । नेपाल विद्युत् प्राधिरकणका अनुसार हाल भारतबाट दैनिक २ सय ५० मेगावाट विद्युत् आयात भइरहेको छ । आगामी हिउँदमा बढ्ने लोडसेडिङलाई मध्यनजर गर्दै प्राधिकरणले अहिलेदेखि नै हिउँदमा पनि लोडसेडिङ दैनिक ६ घन्टामा सीमित गर्ने योजना बनाउन थालेको छ । त्यसका लागि भारतबाटै अहिले आइरहेको भन्दा थप ३ सय मेगावाट विद्युत् आयात गर्नुपर्ने प्राधिकण स्रोतले बतायो ।

    प्राधिकरणका कार्यकारी निर्देशक मुकेस काफ्लले पनि हिउँदमा हुने लोडसेडिङ कम गर्न अहिलेदेखि नै भारतीय पक्षसँग कुराकानी भइरहेको बताए । नेपालको आन्तरिक स्रोतबाट उल्लेख्य रूपमा विद्युत् उत्पादनमा वृद्धि हुन नसकिएकाले तत्कालका लागि काम चलाउन अहिले आयात भइरहेको भन्दा थप ३ सय मेगावाट विद्युत् माग गरिएको उनले बताए । यसमा भारतीय पक्ष सकारात्मक देखिएको उनको भनाइ छ ।

    विगत वर्र्षहरूमा प्रसारण लाइनको समस्याका कारण भारतबाट पाएअनुसार विद्युत् आपूर्ति गर्न नसकिएको भए पनि आगामी हिउँदमा भने त्यो समस्या नपर्ने उनले बताए ।

    नेपाल र भारतबीचको ढल्केवर–मुजफरपुर ४ सय केभी अन्तर्देशीय प्रसारण लाइन छिट्टै सञ्चालनमा आउने र आगामी ६ महिनाभित्र ढल्केवर–इनरुवा ४ सय केभीको प्रसारणलाइन निर्माण सकिने भएकाले हिउँदमा भारतबाट सहज ६÷७ सय मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणको प्रसारण विभाग स्रोतले बतायो ।

    मागअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले हाल काठमाडौं उपत्यकालागायतका क्षेत्रमा दैनिक घोषित रूपमा नौ घन्टा र व्यवहारमा करिब ६ घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । साँझको समयमा हाल दैनिक १ हजार ४ सय मेगावाट विद्युत्को माग हुँदै आएको छ । दिउँसो माग घटेर सामान्य अवस्थामा पुगे पनि बिहान बेलुका भने माग अत्यधिक हुने गरेका कारण प्राधिकरणले विद्युत्भार कटौतीको समय कम गर्न सकेको छैन ।

    हाल प्राधिकरणको भार प्रेषण केन्द्रमा भारतबाट आयात गरिएको समेत गरी कुल ७ सय ८ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । भार प्रेषण केन्द्रका अनुसार कुल मागअनुसार विद्युत् उपलब्ध हुन नसक्दा विद्युत्भार कटौती कम गर्न सकिएको छैन ।

    भूकम्पबाट ध्वस्त भएको ४५ मेगावाट क्षमताको भोटेकोसी हाल पनि पूर्णरूपमा बन्द छ । आगामी पुससम्म आयोजना पुनर्निर्माण गर्ने लक्ष्य राखिएको भए पनि केही दिन पहिले आएको बाढीका कारण आयोजनाको बाँधमा सामान्य क्षति पु¥याएका कारण पछाडि धकेलिने अवस्था देखिएको छ ।

    यस्तै प्राधिकरणको सुनकोसी आयोजना पूर्णरूपमा बन्द भएको छ । १० मेगावाट विद्युत् उत्पादन हुँदै आएको भोटेकोसी बाढीका कारण बन्द गर्नुपरेको सुनकोसी जलविद्युत् केन्द्रले जनाएको छ । यस्तो कालिगण्डकीको पनि एउटा युनिट हाल मर्मतको क्रममा रहेको छ ।

    प्राधिकरणकै मोदी खोला जलविद्युत् आयोजनासमेत आधा क्षमतामा मात्रै सञ्चालनमा रहेको छ । आयोजनाको बाँध तथा विद्युत् गृह नजिकको पर्खालमा सामान्य समस्या आएका कारण सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

    निजी प्रवद्र्धकका केही जलविद्युत् आयोजनासमेत सञ्चालनमा आउन सकेका छैनन् । भूकम्पका कारण क्षतिग्रस्त मैलुङ जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेको छैन । पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना मर्मतको क्रममा रहेको छ ।

    पछिल्लो दिनमा बढेको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् आयोजना पूर्ण क्षमतामा चलाउनसमेत समस्या उत्पन्न भएको छ । बाढी र पहिरोसँगै आउने बालुवा, ढुंगा माटो तथा काठका कारण विद्युत् उत्पादन गृहमा क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पूर्ण क्षमतामा नचलाइएको आयोजना प्रमुखहरूको भनाइ छ ।

    प्राधिकरणले प्रक्षेपण गरेको तथ्यांकलाई नै मान्ने हो भने आगामी हिउँदमा १ हजार ५ सय मेगावाट विद्युत्को माग हुनेछ । वर्षायाममा समेत पूर्ण क्षमतामा नचलेका आयोजना हिउँदमा पूर्ण क्षमतामा चल्छन् भन्ने अवस्था छैन ।

    सरकारले गत ८ माघमा पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजनामा एक वर्षभित्रमा आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्ने र २ वर्षभित्रमा पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने उल्लेख छ । यद्यपि मुलुकभित्रबाट उत्पादन हुने विद्युत्ले माग धान्न नसक्ने भएकाले सो अवधिपछि पनि केही समय भारतबाटै विद्युत् आयात गर्नुको विकल्प देखिँदैन । अबको दुईदेखि तीन वर्षभित्रमा भने आन्तरिक पादनबाट सरकारी घोषणाअनु रूप आधारभूत रूपमा विद्युत् उपलब्ध गराउन सम्भव भएको प्राधिरकणका अधिकारीको भनाइ छ ।

    स्रोत : राजधानी