रसुवागढी जलविद्युत्को ठेकेदारले एकतर्फी काम रोक्यो

    1918

    चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भइरहेका एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको ठेकेदारले एकतर्फी रूपमा काम रोकेको छ । निर्माणस्थलमा पहिरो जाँदा असुरक्षित भएको भन्दै आयोजनाको ठेकेदार चिनियाँ कम्पनी सिडब्लुईले २७ साउनबाट काम रोकेको हो ।

    ठेकेदारले काम रोकेपछि गत वर्षको भूकम्पपछि भर्खरै निर्माण सुरु भएको आयोजना अलपत्र परेको छ । ०७४ को जेठमा सकिनुपर्ने आयोजनाको काम अहिलेसम्म झन्डै ३० प्रतिशत मात्रै भएको छ ।

    बर्खासँगै निर्माणस्थलमा पहिरो गएकाले ठेकेदारले लिखित सूचना दिँदै एकतर्फी रूपमा काम रोकेको रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक माधव कोइरालाले बताए । ‘सुरक्षित वातावरण नबनेसम्म काम नगर्ने अडानमा ठेकेदार छ,’ कोइरालाले भने, ‘काममा फर्काउन ठेकेदारको मुख्यालयमा पनि कुरा गरिरहेका छौँ ।’ कोइरालाका अनुसार, आयोजना निर्माणस्थल रसुवाको टिमुरे, रसुवागढीलगायतका स्थानमा अत्यधिक पानी पर्दा पहिरो गएको छ । ठेकेदारले करिब ४ सय कामदार परिचालन गरेको थियो । त्यसमध्ये सयभन्दा बढी चिनियाँ थिए । ‘काम रोकिएपछि सबै कामदार स्वदेश फर्किएका छन्,’ कोइरालाले भने । आयोजनाको लागत बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा सिभिल र हाइड्रो मोकानिकलको ठेक्का सिडब्लुईसँग भएको हो ।

    आयोजनाको अनुमानित लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । अमेरकी डलरको मूल्य वृद्धि, भूकम्प, कमजोर व्यवस्थापनलगायतले आयोजनाको लागत बढ्ने देखिएको छ ।

    स्रोत : नयाँ पत्रिका