विद्युत् अभावले तरकारी खेती प्रभावित

    2460

    नेपालगन्जः समूहमार्फत बाँके कोहलपुरका महिलाहरूले गरेको तरकारी खेती विद्युत्को अभावमा फस्टाउन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले कृषि प्रयोजनका लागि मिटर बक्स नदिँदा कोहलपुर नगरपालिका–५, रझेनाका कृषक महिलाले गर्दै आएको तरकारी खेती प्रभावित भएको छ ।

    कृषि प्रयोजनका लागि विद्युत् प्राधिकरणमा निवेदन दिएको एक वर्षभन्दा बढी समय बित्दासमेत आफूहरूले मिटर बक्स नपाएको उज्यालो महिला स्वयम् सहायता समूहकी अध्यक्ष फुल कुमारी थारुले बताइन् ।

    उनले विद्युत् प्राधिकरण कोहलपुरले विभिन्न बहाना बनाएर अलमल्याउने गरेको गुनासो गरिन् ।  विद्युत् लाइन नहुँदा सो समूहमा आबद्ध महिलाको तरकारी खेतीमा असर परेको छ । विद्युत् नहुँदा महिलाले बोरिङसमेत सञ्चालन गर्न सकिरहेका छैनन् ।

    करिब १५ कट्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका महिलाले पानी सुविधा नभएपछि घटाउँदै गएका छन् । “पानी नपाएर रोपेको तरकारी पनि मर्न थालेको छ, पानी नभएकै कारण बेमौसमी तरकारी रोप्न सकिएको छैन,” उनले भनिन् ।

    महिलाले जमिन भाडामा लिएर सामूहिक तरकारी खेती गरेका छन् । उनीहरूको बारीमा खुर्सानी र टमाटर फलिसकेको छ भने मुला, रायो, आलु, काउली खान लायक भइसकेको छ ।

    विद्युत् प्राधिकरणले मिटर बक्स उपलब्ध नगराउँदा महिलाले डिजल जेनेरेटर (पम्पसेट) मार्फत सिंचाइ गर्दै आएका छन् । पम्पसेटमार्फत सिँचाइ गर्दा महँगो पर्ने गरेको सचिव जनिया चौधरीले बताइन् । उनले प्रतिघण्टा २ लिटर डिजेल लाग्ने गरेको जानकारी दिइन् । “पम्पसेटले सिंचाइ गर्दा लागत बढी लाग्न गई नाफा कम भइरहेको छ,” उनले भनिन् ‘सिंचाइ सुविधा भए थोरै जमिनबाट धेरै आम्दानी लिन सकिन्थ्यो ।”

    उज्यालो महिला स्वयम् सहायता समूहका महिलाले तरकारीमा जैविक मल र विषादी प्रयोग गर्दै आएका छन् । विषादीले स्वास्थ्यमा असर पर्ने ज्ञान पाएपछि आफूहरूले तरकारीमा जैविक मल र विषादी प्रयोग गर्न थालेको अध्यक्ष फुलकुमारीले बताइन् ।

    उनले गाई र मानिसको पिसाबबाट जैविक मल बनाउने गरेको जानकारी दिइन् । “जीवन परियोजनाले जैविक मल र विषादी बनाउन सिकाएपछि हामीले यो विधि अपनाउने गरेका छौँ,” उनले भनिन् ।

    विषादी प्रयोग नगरेर तरकारी उत्पादन गरेकै कारण उनीहरूले उत्पादन गरेको तरकारी खपत हुने गरेको छ । बजारमा विक्रीका लागि राखिएका तरकारीको तुलनामा महिला समूहले विक्री गर्ने तरकारी छिटै खपत हुने गरेको उनले सुनाइन् ।

    उनले भनिन्– “हामीले उत्पादन गरेको तरकारी छिनमै विक्री हुन्छ, ठेलामा राखेको तरकारीभन्दा हाम्रो तरकारी छिटै विक्री हुन्छ, डुलाइरहनु पर्दैन ।” नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख इन्जिनियर टंक सिंह ठकुरीले ट्रान्सफरमर सानो भएका कारण महिला समूहलाई विद्युत् दिन नसकिएको बताएका छन् ।

    उनले उक्त क्षेत्रबाट विद्युत् माग धेरै भएपनि ट्रान्सफरमरका कारण वितरण हुन नसकेको जानकारी दिए । “ट्रान्सफरमरको लोड नभएकोले एक वर्षदेखि विद्युत् वितरण रोकिएको छ,” उनले भने ।

     स्रोत:कारोबार