फेरि जाग्यो आशा

    1547

    नौमुरे बहुउद्देश्यीय परियोजना (प्यूठान)

    फाल्गुन २०, २०७३- २६ वर्षदेखि चर्चामा रहेको जलाशययुक्त बहुउद्देश्यीय नौमुरे जलविद्युत् परियोजना बन्नेमा आशा जागेको छ । २४५ मेगावाट क्षमताको उक्त परियोजनाको यस वर्ष प्रारम्भिक प्रतिवेदन बनेपछि निर्माण हुने आशा फेरि पलाएको हो । परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) गर्नका लागि नेपाल सरकार ऊर्जा मन्त्रालयले २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गएको बेला उपहारस्वरूप परियोजना बनाइदिने आश्वासन भारतले दिएको थियो । विद्युत् विकास विभागमा नौमुरे बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक प्रतिवेदन पेस भइसकेको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जनाए । उनका अनुसार विभागले प्रारम्भिक प्रतिवेदनको अध्ययन गरी विस्तृत प्रतिवेदन (डीपीआर) गरिनेछ ।

    परियोजना कार्यान्वयनका लागि धेरै काम बाँकी भएको उनले बताए । ‘परियोजना कार्यान्वनका लागि सबैभन्दा पहिले डीपीआर बन्नुपर्छ,’ आचार्यले भने, ‘यसले परियोजनाको फिजिबिलिटी छ/छैन हेरिन्छ ।’ विस्तृत प्रतिवेदनमा विद्युत् उत्पादन क्षमता, खानेपानी, सिँचाइ, बाढी नियन्त्रण, प्रभावित क्षेत्रका बासिन्दालाई पर्ने असर, बिजुलीको समग्र प्रतिफललगायतका कुराहरू हेरिने उनको भनाइ छ ।

    ‘प्रारम्भिक प्रतिवेदनअनुसार यो आयोजनालाई निकै सस्तो र बहुउपयोगी परियोजनाका रूपमा हेरिएको छ,’ आचार्यले भने, ‘१ सय ६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।’ प्यूठानको हंसपुर जाबुने र अर्घाखाँचीको जलुके गाविसमा पर्ने उक्त परियोजनाले प्यूठानको चकचकेसम्मको क्षेत्रलाई जलाशययुक्त बनाउने आचार्यको भनाइ छ । उनका अनुसार वर्षातमा जम्मा भएको पानी आयोजनाको तल्लो क्षेत्रमा रेगुलर अहिलेकै मात्रामा छाडिनेछ । परियोजनाबाट छिमेकी जिल्ला कपिलवस्तु क्षेत्रको ४० हजार हेक्टर क्षेत्रफलको सुख्खा जमिन र प्यूठानको बांगेसाल क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

    स्थानीयका अनुसार ०४४ देखि ०४६ सम्म प्राविधिक टोलीले हेलिकप्टरबाट नौमुरेमा आई परियोजनाको प्रारम्भिक सर्भे गरिएको थियो ।

    ‘आयोजना बन्ला भन्ने ठूलो आशा थियो,’ बांगेसाल १ झिलीबाङ प्यूठानका हेमबहादुर पल्लीले भने, ‘वर्षौंदेखि सुनसान बनेको आयोजनाको फेरि चहलपहल सुरु भएको छ । अब बन्ने आस जागेको छ ।’ उनले ऊर्जा मन्त्रालयबाट दुई महिना पहिले अध्ययनका लागि प्राविधिक टोली आउँदा स्थानीय उत्साहित भएको बताए ।

    कहाँ पर्छ नौमुरे ?
    प्यूठानबाट बग्ने झिमरुक र माडी खोलाको संगमस्थल ऐरावतीबाट दुई किलोमिटर तल यो परियोजना स्थल छ । दुवैतर्फ कडा चट्टान र साँघुरो गल्छी भएकाले बाँध बाध्न उपयुक्त रहेको अध्ययन टोलीले जनाएका छन् । सन् २००७ मा परियोजनाबाट विद्युत् उत्पादन गर्नका लागि ३२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ । बहुउद्देश्यीय निर्माण गर्दा लाग्ने लागत अध्ययनमै रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    सुख्खायाममा समेत २ सय ४५ मेगावाट विद्युत् निकाल्न्न सकिने अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । प्यूठान–भालुबाङ सडक खण्डअन्तर्गत पर्ने बांगेसालबाट परियोजनास्थलमा पुग्न सकिन्छ । परियोजनालाई लक्षित गरी सडक डिभिजन कार्यालय प्यूठानले बांगेसालदेखि आयोजना निर्माणस्थल नजिकमा पर्ने हंसपुर ­१ को जाबुनेसम्म सडक निर्माण अघि बढाएको छ ।

    चालु आवभित्रै सडक निर्माण पूरा गर्ने गरी काम अघि बढेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुरेश न्यौपानेले बताएका छन् ।

    स्रोत:कान्तिपुर दैनिक