३० अर्ब विदेशी लगानी स्वीकृत

    1335

    लगानी सम्मेलनको अघिल्लो दिन औद्योगिक प्रवद्र्धन बोर्डको बैठकबाट विदेशी लगानी स्वीकृत

    काठमाडौं/सरकारले होटेल, सिमेन्ट उद्योग र जलविद्युत् आयोजनामा लगानी हुने ३० अर्ब रुपैयाँको बैदेशिक लगानी स्वीकृत गरेको छ । औद्योगिक प्रवद्र्धन बोर्डको बुधबारको २२२औँ बैठकले सोल्टी होटेल, अर्घाखाँची सिमेन्ट, लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको पुँजी वृद्धि स्वीकृत गरेको हो । बोर्डले श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनलाई जलविद्युत्मा विदेशी लगानी गर्न स्वीकृति दिएको छ । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको अघिल्लो दिन बोर्डले ३० अर्ब रुपैयाँबराबरको विदेशी लगानीलाई स्वीकृत गरी लगानीकर्तालाई विश्वास दिलाउन खोजिएको उद्योग विभागका महानिर्देशक प्रदीप कोइरालाले बताए ।

    सोल्टी होटेलको एक अर्ब ६४ करोड लगानी स्वीकृत
    बैठकले सोल्टी होटेलले प्रस्ताव गरेको १ अर्ब ६४ करोड रुपैयाँ पुँजी वृद्धिको प्रस्तावलाई स्वीकृत गरेको छ । अब सोल्टीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुगको छ ।

    अर्घाखाँचीलाई मर्ज हुन स्वीकृति
    बोर्डले अर्घाखाँची सिमेन्टका दुईवटा कम्पनीलाई मर्ज हुन स्वीकृति दिएको छ । अब कम्पनीको पुँजी तीन अर्ब रुपैयाँ पुगेको छ । अर्घाखाँची सिमेन्टको एउटा कम्पनी १ अर्ब १० करोड पुँजीको थियो भने अर्को १ अर्ब ९० करोडको थियो । त्यस्तै, सर्वोत्तम सिमेन्ट कम्पनीको पुँजी वृद्धि प्रस्ताव स्वीकृत भएको छ । ६ अर्ब पुँजी रहेको कम्पनीको ३ अर्ब ९७ करोड  ६० लाख रुपैयाँ भई ९ अर्ब ९७ करोड ६० लाख रुपैयाँ पुगेको बोर्डले जनाएको छ ।

    बोर्ड बैठकले रसुवामा निर्माण हुने १ सय २० मेगावाटको लाङटाङ भोटेकोसी जलविद्युत् आयोजनाको पुँजी वृद्धि योजनालाई स्वीकृत गरेको छ । आयोजना निर्माण गर्न स्थापना भएको लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीको पुँजी १७ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसअघि कम्पनीकोे पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

    चिनियाँ र नेपाली लगानीमा लमजुङमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी सिनो हाइड्रो सगरमाथा प्रालिको पुँजी बढाउने प्रस्ताव स्वीकृत भएको छ । अब कम्पनीको पुँजी १९ अर्ब ५५ करोड दुई लाख रुपैयाँ पुगेको छ । यसअघि कम्पनीको पुँजी १६ अर्ब १४ करोड ९८ लाख रुपैयाँ थियो । कम्पनीमा चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र नेपाली लगानीकर्ताको १० प्रतिशत सेयर छ ।

    यसैगरी, बोर्डले लिखुखोलामा निर्माण हुने ‘तल्लो लिखुखोला’, २८ दशमलव एक मेगावाटको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन कम्पनीमा विदेशी लगानी गर्न स्वीकृति दिएको छ । अधिकृत पुँजी १ अर्ब र जारी पुँजी १ अर्ब नै रहेको कम्पनीले आफूसँग रहेको जगेडा सेयरबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख २० हजार कित्ता सेयर बिक्री गरेको छ । बिक्री गरेको सेयर मरिससस्थित डोल्मा इप्याक्ट फन्डलाई एसपिएमार्फत खरिदका लागि अनुमति दिइएको बोर्डले जनाएको छ । बोर्डले  कम्पनीका लागि कुल एक अर्ब ८७ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो ।

    स्रोत:नयाँपत्रीका