विद्युतीय प्रविधिको विकास : लिखित प्रस्ताव ल्याउन मन्त्रीको आग्रह

    1227

    विद्युतीय प्रविधिको विकासका क्षेत्रमा काम गर्न ‘डकुमेण्ट’ आवश्यक भएकाले लिखित प्रस्ताव ल्याउन जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले आग्रह गरेका छन् । ऊर्जा विकास परिषदद्वारा मङ्गलवार यहाँ आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा उठाइएका मागहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

    कार्यक्रममा मन्त्रीसमक्ष प्रमुख तीन माग÷सुझाव प्रस्तुत गरिएका थिए । तिनमा अर्बान माइक्रो ग्रीडको व्यवस्था गर्ने विषयलाई प्रमुखताका साथ उठाइएको थियो । सौर्य ऊर्जा प्रविधि र विद्युत्को प्रयोगबाट न्यूनतम विद्युत् खपतमा अधिकतम मात्रामा ऊर्जाको मागलाई पूर्ति गर्न सो प्रविधिले मद्दत पुर्‍याउने कार्यक्रममा बताइएको थियो । त्यसैगरी दोस्रोमा, विद्युतीय सवारीसाधन चार्जिङ पोइण्टको व्यवस्था गर्न सुझाव दिइएको थियो । इन्धन खपतलाई घटाउन मद्दत पु¥याउने विद्युतीय सवारीसाधन चार्ज गर्ने स्थानको अभाव रहेकाले त्यसका लागि सरकारले निश्चित ठाउँको व्यवस्था गर्नुपर्ने माग पनि कार्यक्रममा राखिएको थियो ।

    त्यसैगरी परिषद्लाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बोर्डमा सदस्यता दिन पनि मन्त्रीसमक्ष आग्रह गरिएको थियो । सोका आधारमा केन्द्रमा हुने ऊर्जा प्रवद्र्धनसम्बन्धी छलफलहरूमा सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई सहभागी गराई समस्या समाधानमा सहायक हुन सकियोस् भन्ने उद्देश्य रहेको परिषद्का अध्यक्ष सुजित आचार्यले बताए । हाल परिषद्मा वैकल्पिक ऊर्जा प्रवद्र्धनमा सक्रिय ४१ ओटा सङ्घसंस्था आबद्ध छन् । लोडशेडिङको मार खेपिरहेको वर्तमान समयमा वैकल्पिक ऊर्जाका माध्यमबाट जीवनलाई सहज बनाउने कार्यमा यी कुरा आवश्यक रहेको आचार्यको जोड थियो । अर्बान माइक्रो ग्रीडका बारेमा बोल्दै उनले आफूहरूले ललितपुरको भैंसेपाटीमा सय किलोवाटको प्यानल तयार गरी केही घरमा सोलार, ब्याट्री तथा मिटरसहित उदाहरण शुरू गरिसकेको जानकारी दिए ।

    कार्यक्रममा ६ लाख घर रहेको काठमाडौंमा जलविद्युत्को हालको अवस्थाले धान्न नसक्ने हुँदा वैकल्पिक ऊर्जा राम्रो स्रोत हुने बताइएको थियो । परिषद्का कार्यकारी सदस्य एवम् वायु ऊर्जा नेपालका अध्यक्ष कुशल गुरुङले वायु नेपालको ऊर्जाको राम्रो विकल्प रहेको बताए । ऊर्जा सुरक्षा ऊर्जा विकास परिषद्को मूल चासोको विषय रहेको कार्यक्रममा बताइएको थियो ।

    स्रोत : अभियान