वैकल्पिक ऊर्जातर्फ आकर्षण बढ्दो – ६ जिल्लामा ३० हजार बायोग्यास प्लान्ट

    3991

    भैरहवा, २९ माघ – लुम्बिनी अञ्चलका ६ जिल्लामा बायोग्यास प्रयोगकर्ता दिन–प्रतिदिन बढ्दै गएका छन् । अहिले ६ जिल्लामा २९ हजार ३ सय ३९ भन्दा बढी बायोग्यास प्लान्ट बनिसकेका छन् ।
    नेपाल बायोग्यास प्रवद्र्धन संघ बुटवल क्षेत्रीय कार्यालयका अनुसार लुम्बिनी अञ्चलमा सबैभन्दा बढी नवलपरासीमा ९ हजार ६ सय ८४ प्लान्ट बनेका छन् भने रूपन्देहीमा ७ हजार १ सय ६, पाल्पामा ६ हजार ७६, कपिलवस्तुमा ४ हजार १ सय ७, कपिलवस्तुमा १ हजार ५ सय ९१ र गुल्मीमा ७ सय ७५ बायोग्यास प्लान्ट जडान भइसकेका छन् ।
    लुम्बिनीका तराई तथा पहाडी जिल्ला दुवै ठाउँमा अहिले इन्धनको वैकल्पिक स्रोतका रूपमा उदाएको बायोग्यास ग्रामीण क्षेत्रमा एकदमै लोकप्रिय हुँदै गएको छ । बढ्दो लोडसेडिङ तथा ऊर्जासंकटका कारण सर्वसाधारण अहिले वैकल्पिक ऊर्जाका रूपमा रहेकोे बायोग्यासतर्फ आकर्षित हुन थालेका हुन् ।
    “एलपी ग्यासजस्तै नीलो ज्वालामा बल्ने यो ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्न सकिन्छ । अहिले ऊर्जा संकट देखिएका बेला बायोग्यासबाट खाना पकाउनुका साथै बत्ती बाल्न पनि सकिने भएकाले सर्वसाधारणको आकर्षण बढेको हो,” नेपाल बायोग्यास प्रवद्र्धन संघ बुटवल क्षेत्रीय कार्यालयका क्षमता विकास तथा सहयोग अधिकृत मोदनाथ तिम्सिनाले भने ।
    बायोग्यास इन्धनको दिगो स्रोत हुनुका साथै यसलाई वातावरण परिर्वतनले असर गर्दैन । यसको प्रयोगले स्वास्थ्यमा सुधार तथा समयको बचत, सिलिन्डरलाई जस्तो नियमित पैसा खर्च नहुने र सिलिन्डरजस्तो पड्किने जोखिम नहुने तथा यसबाट निस्किने उच्चकोटिको मल प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्न सकिने भएकाले यसको प्रयोग दिनानुदिन बढ्दै गएको उले बताए ।
    सरकारले बायोग्यासमा सर्वसाधारणको पहुँच बढाउन तराई, पहाड र दुर्गम पहाडमा वर्गीकरण गरी ९ हजारदेखि १६ हजारसम्म अनुदानको व्यवस्था गरेको छ । प्लान्ट जडान गर्दा घनमिटर हेरी ५० हजारदेखि ७० हजारसम्म खर्च लाग्ने बुटवल क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत नारायण काफ्लेले जनाए । उनका अनुसार बायो ग्यास प्लान्टको निर्माण स्थानीयस्तरमा प्राप्त हुने सामग्री सिमेन्ट, बालुवा, गिट्टी, इँटा, ढुंगा, छड, पानी, रंग तथा स्थानीय उद्योगबाट उत्पादित मिक्चर, चुला, ग्यास टेपबाट गरिन्छ ।
    “बायोग्यासको निर्माण देशभरका ८० भन्दा बढी विभिन्न बायोग्यास निर्माण कम्पनीले गर्छन्, देशभरि रहेका बायोग्यास निर्माण कम्पनीहरूको व्यवसायलाई संरक्षण, प्रवद्र्धन र विकास गर्दै एकीकृत बायोग्यास प्रणाली तथा यससँग सम्बन्धित जैविक प्रविधिको समेत प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यावरणमा संरक्षणमा योगदान पु¥याउने तथा कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धा कायम राख्ने काम नेपाल बायोग्यास प्रवद्र्धन संघले गर्छ,” काफ्लेले भने । हालसम्ममा देशभर २ लाख ५० हजारभन्दा बढी प्लान्ट निर्माण भइसकेका छन् ।
    जिविसमा रहेका वातावरण तथा ऊर्जा एकाइले यसको प्रवद्र्धनमा सहयोग गर्दै आएका छन् । रूपन्देहीमा बायोग्यास प्लान्ट कम बनेका २२ वटा गाविस वर्गीकरण गरी प्रतिप्लान्ट नेपाल सरकारले दिँदै आएको अनुदानबाहेक प्रोत्साहनस्वरूप थप ५ हजार सहयोग गर्दै आएको जिविस रूपन्देहीका ऊर्जा अधिकृत राधा आरसीले जनाइन् ।
    नेपालमा सर्वप्रथम सन् १९५५ मा बेल्जियम नागरिक बीआर सबोलले सर्वप्रथम सेन्ट जेभियर्स स्कुल, गोदावरीमा प्रदर्शनीका लागि गोबरग्यास प्लान्ट निर्माण गरेका थिए । हाल प्रचलित रहेको जीजीसी २०४७ मोडेलको बायोग्यास प्लान्टको सुरुवात नेपालमा २०४७ भदौ ५ देखि भएको हो ।

    प्रस्तुति: कारोबार