दुई आयोजना अध्ययन गर्न एडीबीको अढाइ अर्ब

    3367

    माघ २८, काठमाडौं (अस) । एशियाली विकास बैङ्क (एडीबी)ले सुनकोशी दोस्रो र तेस्रो जलाशययुक्त आयोजना अध्ययनका लागि करीब रु. २ अर्ब ५५ करोड (३० मिलियन अमेरिकी डलर) उपलब्ध गराउने भएको  छ । एडीबीका प्रतिनिधि र जलस्रोत मन्त्रालयबीच आइतवार भएको बैठकमा सहुलियत ऋण उपलब्ध गराउन एडीबी तयार भएको हो । ‘आयोजना अध्ययनका लागि सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता एडीबीले व्यक्त गरेको छ,’ मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरले भने । एडीबीले १ हजार १ सय मेगावाट क्षमताको सुनकोशी दोस्रो र ५ सय मेगावाटको तेस्रो आयोजना निर्माणका लागि चासो देखाएको छ । यसैगरी, एडीबीसँग बर्दघाटदेखि भारतको गोरखपुरसम्मको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा पनि छलफल भएको कुँवरले जानकारी दिए ।

    प्रस्तुति: अभियान