अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न लगानी सम्झौता

    2623

    आगामी दुई वर्षपछि नेपालबाट भारतमा र भारतबाट नेपालमा सहज रूपमा विद्युत् आदन–प्रदान हुने भएको छ ।

    १ सय ४० किलोमिटर लामो ढल्केबर–मज्जफपुर ४ सय केभी बृहत् प्रसारणलाइन बन्ने भएपछि यो सम्भव हुन लागेको हो । प्रसारणलाइन बनेपछि नेपालले आवश्यक परेको बेला भारतबाट र बढी भएको बिजुली भारतमा निकासी गर्न सक्नेछ ।  यसबाट एक दर्जन भारतीय कम्पनीलाई नेपालबाट विद्युत् निकासी गर्ने बाटो खुलेको छ । भारतीय कम्पनीहरुले जलविद्युत् आयोजना निर्माणको तयारी गरेका छन् ।
    अन्तरदेशीय प्रसारणलाइन बनाउन नेपाल र भारतका लगानीकर्ताबीच सोमबार लगानी सम्झौता भएको छ । सम्झौताअनुसार नेपालको तर्फबाट प्रसारणलाइन बनाउन पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) र भारतको तर्फबाट क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) गठन भएको छ ।
    लगानीसम्बन्धी सम्झौतापत्रमा नेपालको तर्फबाट विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, ग्रिड विकास विभागका महाप्रबन्धक गणेशप्रसाद राज र भारतीय पक्षबाट पावर ग्रिडका महाप्रबन्धक सुधीर मित्तल, आईएलएपएस इनर्जीका मुख्य सञ्चालन अधिकृत हाजिग वेग, सतलज जलविद्युत् निगमका कार्यकारी निर्देशक आरके अग्रवालले हस्ताक्षर गरेका छन् ।
    सन् २०१४ को अन्तसम्म प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारणलाइनबाट १ हजार २ सय मेगावाट विद्युत् आदन–प्रदान गर्ने गरी क्षमता बुक पनि भइसकेको छ ।  यो सम्झौताले नेपालको जलविद्युत्मा थप लगानी आउने सम्भावना बढेको छ । धेरै लगानीकर्ताले अन्तरदेशीय प्रसारणलाइन निर्माण नभएको कारण देखाउदै लगानी गरेका छैनन्।
    नेपाल तर्फको पीटीसीएनमा विद्युत् प्राधिकरणको ६४, भारतको पावरग्रीड कर्पोरेशनको २६, आइएलएफ इनर्जीको १० प्रतिशत लगानी हुने छ । यस्तै भारततर्फको सीपीटीसीमा विद्युत् प्राधिकरणको १० प्रतिशत, पावरग्रीड कर्पोरेशन र सतलज जलविद्युत् निगम लिमिटेडको २६÷२६ र आइएलएफएस इनर्जीको ३८ प्रतिशत लगानी हुने छ ।
    प्रसारणलाइन बनाउने समझौता अनुसार प्रसारणलाइन निर्माण भए जीएमआर इनर्जी लिमिटेडले माथिल्लो कर्णाली, सतलज जलविद्युत् निगमले अरुण तेस्रो, भिल्बरा ग्रुपले लिखुका साथै टाटा पावरले तामाकोसी ३ विद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली भारत निकासी गर्न सक्ने छन् ।
    यस्तै प्रसारणलाइन निर्माण भएपनि नेपालबाट निकासी हुने बिजुलीमा भारतले थप २ रुपैयाँ भारु कर लगाएकाले निकासीमा  भने समस्या रहने देखिएको छ ।
    नेपालले पनि लोडसेडिङ न्युन गर्न भारतबाट थप बिजुली आयात गर्न पाउने छ । हाल भारतबाट नेपालले १ सय ४५ मेगावाट बिजुली आयात गरिरहेको छ ।
    गत मंसिरमा भारतको नयाँदिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको बैठकमा २५ वर्षसम्मका लागि १ सय ५० मेगावाट विद्युत् आयात गर्न पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरिद सम्झौता (पीपीए), प्रसारण–लाइनको क्षमता बुक, प्रसारणलाइन निर्माण तथा सञ्चाल समझौता भइसकेको छ ।
    पीटीसीएनले ढल्केबरदेखि भिट्टामोडसम्म ४० किलोमिटर र सीपीटीसीले भिट्टामोडदेखि भारतको मज्जफपुरसम्म १ सय किलोमिटर लामो प्रसारणलाइन बनाउने छ ।
    १ सय ४० किलोमिटर लामो प्रसारणलाइन बनाउन साढे ४ अर्ब रुपैयाँ( ५ करोड २० लाख अमेरिकी डलर) लाग्ने एक अध्ययनले देखाएको छ । जसअनुसार ढल्केबरदेखि भिट्टामोडसम्म ४० किलोमिटर लामो लाइन बनाउन नेपाल तर्फको पीटीसीएनले १ अर्ब ७० करोड रुपैयाँ (२ करोड डलर) जुटाइसकको छ । भारतीय पक्षको नेतृत्व गरेको आइएलएफएस इनर्जीले बाँकी २ अर्ब ७२ करोड रुपैयाँ (३ करोड २० लाख डलर) जुटाउन बाँकी छ । लगानी समझौतापछि भारततर्फ प्रसारणलाइन निर्माणका लागि सीपीटीसीले वित्तीय व्यवस्था गर्ने भएको छ । यस्तै सीपीटीसीले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम(आइएफसी) सँग कर्जाका लागि छलफल गरिरहेको जनाएको छ ।
    प्रसारणलाइनको निर्माणका लागि संभाव्यताको अध्ययन, विस्तृत सर्वेक्षण, वातावरणीय परिक्षण, सामाजिक अध्ययन, इन्जिनियरिङ डिजाइन जस्ता प्रारम्भिक काम पुरा भईसकेको छ ।
    दुई देशबीच विद्युत् आयात–निर्यात गर्नका लागि यो प्रसारण–लाइन निर्माण गर्न सन् २००७ मा विद्युत् प्राधिकरण र भारतको इन्फ्रास्टक्चर एण्ड लिजिङ फाइनान्सियल सर्भिसेज(आईएलएस) बीच सम्झौता भएको थियो । सम्झौताअनुसार सन् २०११ मा निर्माण पूरा नभएपछि समय थपेर २०१४ पु¥याइएको हो ।
    सन् २००७ मा प्राधिकरण र आईएलएफएसबीच ढल्केबर–मुजफ्फरपुरका अतिरिक्त दुहवी–पुर्निया, बुटबल–गोरखपुर र सिलगुडी–अनारमुनी ४ सय केभी प्रसारण–लाइन निर्माण गर्ने सम्झौता भएको थियो । चारवटा ठूला प्रसारण–लाइन निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म एउटापनि निर्माण हुन सकेको छैन । प्राधिकरणले हेटौंडादेखि दुहबी ३ सय किलोमिटर लामो प्रसारण–लाइन निर्माणको प्रक्रिया सुरु गरिसकेको छ ।