प्राधिकरण र भोटेकोसीबीच विद्युत् खरिद बिक्री सम्झौता

    1989

    नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी जलविद्युत् आयोजनाबाट सस्तोदरमा थप ९ मेगावाट बिजुली किन्ने समझौता गरेको छ ।

    सम्झौताअनुसार प्राधिकरणले भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडबाट थप ४ करोड ३९ लाख ६० हजार ४ सय ५०  युनिट(९ मेगावाट) बिजुली प्रतियुनिट १ रुपैयाँ ६२ पैसामा खरिद गर्नेछ । थप बिजुली खरिदपछि भोटेकोसीसँगको विद्युत् खरिद दर (पीपीए) समग्रमा प्रतियुनिट १ रुपैयाँ १० पैसा घटेको छ ।
    । थप ९ मेगावाट बिजुली किन्ने भएपछि विद्युत् खरिददर १ रुपैयाँ १० पैसा (१.२३ सेन्ट)  घटेर प्रतियुनिट ७ रुपैयाँ ८० पैसा (८.६७ सेन्ट) कायम हुने प्राधिकरण विद्युत् विकास विभागका निर्देशक शेरसिंह भाटले बताए ।
    उनका अनुसार भोटेकोसीलाई प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ९१ पैसा (९.९ सेन्ट) तिर्दै आएको छ । प्राधिकरणले अमेरिकी डलरमा भोटेकोसीलाई भुक्तानी गर्दै आएको छ । विद्युत् खरिद दर डलरको मूल्यमा निर्भर रहन्छ । अहिले रुपैयाँको तुलनामा डलर मजबुत भएकाले विद्युत् खरिद दर पनि बढेको छ ।
    प्राधिकरणले बिजुली बिक्रीबाट औसत प्रतियुनिट ६ रुपैयाँ ४५ पैसा आम्दानी गर्छ । थप ९ मेगावाटमा नयाँ पीपीए दर लागू भएपछि प्राधिकरणले भोटेकोसीलाई तिर्नुपर्ने थप ४ करोड ८२ लाख ९० हजार रुपैयाँ दायित्व घट्ने निर्देशक भाटले बताए । लेउ वा देउ (टेक अर पे) सम्झौताअन्तर्गत प्राधिकरणले भोटेकोसीबाट वार्षिक २४ करोड ६० लाख युनिट बिजुली खरिद गर्दा २ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ । प्राधिकरण र भोटेकोसीबीच ३६ मेगावाटमात्र बिजुली खरिद सम्झौता (पीपीए) छ । आयोजनाको जडित क्षमता ४५ मेगावाट भए पनि पीपीए र विद्युत् उत्पादनको अनुमति ३६ मेगावाट मात्र भएपछि उसले थप बिजुली उत्पादन गर्न पाएको छैन । थप बिजुलीको दर एउटै कायम हुनुका साथै पीपीए रुपैयाँमा भएको छ । आयोजनाबाट सन् २००१ को जनवरीदेखि विद्युत् उत्पादन सुरु भएको हो ।