चमेलियाको साँघुरिएको सुरुङ ९१ मिटर मात्रै खुलाउन बाँकी

    2791

    काठमाडौं, ११ पुस

    दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको सुरुङ ९१ मिटर मात्रै खुलाउन बाँकी छ । कमजोर भौगर्भिक अवस्थाका कारण खनिसकेको सुरुङमध्ये ८ सय ४३ मिटर साँघुरिएको थियो । यसमध्ये शनिबारसम्ममा ७ सय ५२ मिटर अर्थात् ८९ प्रतिशत खुलाइसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘करिब ३ महिनामा ठेकेदारले १ सय ३८ मिटर खुलाइसकेको छ,’ उनले भने, ‘यही गतिमा काम भएमा लक्षित समयभन्दा अघि नै निर्माण सकिन्छ ।’

    साँघुरिएको सुरुङ खुलाउनेसहित सिभिलतर्फको निर्माण ०७४ को असोजको दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएको छ । सम्पूर्ण  निर्माण ०७४ पुसको दोस्रो साता (डिसेम्बर ०१७) सकेर विद्युत् उत्पादन सुरु गर्ने तालिका बनाइएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले निर्देशनपछि आयोजनाको ठेकेदारले असोजको दोस्रो साताबाट साँघुरिएको सुरुङ खुलाउन सुरु गरेको थियो । ऊर्जामन्त्री शर्माको उपस्थितिमा प्राधिकरण, ठेकेदार र परामर्शदाताले साँघुरिएको सुरुङ खुलाउन असोजको दोस्रो साताबाट सुरु गर्ने ८ बुँदे सहमति गरेका थिए । केहीअघि आयोजनाको स्थलगत निरीक्षण गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्माण जतिसक्दो छिटो सक्न निर्देशन दिएका थिए ।

    हप्तामा २३ मिटर खुलाइँदै

    आयोजनाको ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)ले साँघुरिएको सुरुङ हप्तामा २३ मिटर खुलाइरहेको छ । लक्षित समयमा सक्न हप्तामा ११ मिटर खन्नुपर्ने आयोजनाले जनाएको छ । साँघुरिएको सुरुङ खुलाउ दुईतिरबाट काम भइरहेको छ । मुख्य सुरुङको तल्लो र माथिल्लो भागबाट ठेकेदारले काम गरिरहेको आयोजनाले जनाएको छ । ठेकेदारले माथिल्लो भागबाट ४ सय २२ मिटर र तल्लो भागबाट ३ सय ३० मिटर खुलाएको हो ।

    हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनतर्फको अधिकांश काम सकिएको छ । ‘टर्बाइन तथा जेनेरेटर १५ पुसभित्रमा जडान भइसक्छ, त्यसपछि ड्राई टेस्ट सुरु हुन्छ,’ आयोजना प्रमुख अजयकुमार दाहालले भने । प्रसारण लाइनको निर्माण सकिए पनि कैलाली र डोटीमा सल्लाको रूख ढलेर केही क्षति पुगेको र त्यसलाई छिट्टै मर्मत गर्ने उनले जानकारी दिए । आयोजनाको काम सुरु गर्दा वैशाख ०६८ (९ मे २०११) मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । प्राधिकरणले साँघुरिएको सुरुङ खुलाउन यसअघि भएको १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ (भ्याटसहित) लागतको समितिले पुनर्मूल्यांकन गरिरहेको छ ।

    लागत स्वीकृतिमा चलनचल्तीभन्दा बढी दर दिएर अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनपछि प्राधिकरणले भुक्तानी रोकेको थियो । भुक्तानी नपाएको भन्दै ठेकेदार सिजिजिसीले खुम्चिएको सुरुङ खुलाउने काम रोकेको थियो । प्राधिकरणले भेरिएसन, विवादित बिलको टुंगो नलागेसम्म ठेकेदारलाई अन्तरिम भुक्तानी (प्रोभिजनल पेमेन्ट) दिइरहेको छ ।

    बाँध, विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न सिजिजिसीसित सुरुमा २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भूबनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत ५ अर्ब ४२ करोड ७४ लाख पुगेको छ ।

    – नयाँ पत्रिका