वाग्मतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने

    1464

    15112016083702makwanpur-hydro-1000x0

    कार्तिक ३०, २०७३- निजी क्षेत्रको लगानीमा मकवानपुरस्थित इपापञ्चकन्या वाग्मती दोभानमा २२ मेगावाट विद्युत् उपत्पादन हुने भएको छ । मान्डु हाइड्रो कम्पनीले ०७५ सम्ममा वाग्मतीको पानीबाट विद्युत् उत्पादन गर्ने भएको हो ।

    सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा मान्डुले वाग्मती साना जलविद्युत् आयोजनाको निर्माणकार्य ०७२ जेठबाट सुरु गरेको हो । इपापञ्चकन्या ९ वाग्मती दोभानमा निर्माण कार्य सुरु गरेको १८ महिनामा १५ प्रतिशत काम सकिएको छ । बाँकी निर्माण कार्य ३० महिनाभित्रमा सम्पन्न गरेर २२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको मान्डु कम्पनीका प्राविधिक सुरज पन्तले बताए । ‘भूकम्प र नाकाबन्दीका कारण निर्माणकार्य सुरुमा अवरुद्ध हुन पुगे पनि अहिले युद्धस्तरमा काम भइरहेको छ,’ प्राविधिक पन्तले भने, ‘कोगटेको पानी इपापञ्चकन्या दोभानमा ३ देखि ५ मिटर उचाइको वेयर (बाँध) बनाएर सुरुङमार्फत बगरबेंसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत् उत्पादन गरिन्छ ।’

    वाग्मतीमा निर्माण गरिने ५५ मिटर लामो वेयर (बाँध) र पावर हाउस २ हजार ४ सय ४० मिटरको दूरीमा छ । बाँध बनाउने काम र सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन भट्टराईले बताए । इपापञ्चकन्या ९ दोभान र पावर हाउसको रहने क्षेत्र बगरबेंसीबाट गरी दुवैतर्फबाट आयोजनाको सुरुङ खन्ने कार्य भइरहेको छ । दोभानतर्फबाट ५ सय ६० मिटर र बगरबेंसीबाट २ सय २० मिटर गरी ७ सय ८० मिटर लामो सुरुङ खनिसकिएको छ ।

    सुरुङ २ हजार ४ सय ४० मिटर खन्नुपर्छ । दुर्वतर्फवाट दैनिक कम्तीमा ५ मिटर सुरुङ खन्ने गरिएको छ । सुरुङ खन्न मात्र सयजनाभन्दा बढी कामदार खटिएका छन् ।

    आयोजनाको सिभिल वर्क (सुरुङ, पावर हाउस र बाँध निर्माण गर्ने कार्य) को ठेक्का साउथ एसियन इन्फास्टक्चर प्रालिले लिएको छ । सुरुङ खन्नेलगायत सिभिल वर्कको सबै कार्यमा मजदुरदेखि प्राविधिकसम्म नेपाली नै छन् । उक्त आयोजनाको बाँध बनाउने र सुरुङ खन्नेलगायत कार्यमा २ सय जनाले काम गरिरहेका छन् । आयोजनाको इलेक्ट्रो मेकानिकलको काम गर्न मान्डु हाइड्रो कम्पनीले तत्कालै टेन्डर निकाल्दै छ । ०७५ सालको अन्तिमसम्म विद्युत् उत्पादन गरेर कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङको राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको छ । उक्त आयोजनाको पावर हाउसबाट कुलेखानी प्रथमको सबस्टेसन १४ किलोमिटरको दूरीमा रहेको छ ।

    आयोजनाबाट प्रभावित मकवानपुरको इपापञ्चकन्या, सिस्नेरी, कोगटे र ललितपुरका माल्टा र धुसेल गाविसका बासिन्दालाई कम्पनीले सेयर वितरण गर्ने जनाएको छ । ‘आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा सहयोग पुर्‍याउनुको साथै प्रभावित बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा लिएका छौं,’ आयोजना सरोकार समितिका संयोजक हिदम लामाले भने, ‘यो आयोजना सक्दो छिटो सम्पन्न गर्न यस क्षेत्रका बासिन्दाले सहयोग पुर्‍याउँदै आएका छन् ।’ काठमाडौंबाट निस्केको वाग्मतीको पानीबाट विद्युत् उत्पादन गर्ने यो नै पहिलो आयोजना हो ।

    Source: Kantipur