‘औद्योगिक करिडोर छिट्टै लोडसेडिङ मुक्त’

    1153

    पुस २४, २०७३- ऊर्जामन्त्री जनार्दन शर्माले पर्सा बारा औद्योगिक करिडोरलाई छिट्टै लोडसेडिङ मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘मुलुकलाई लोडसेडिङ्ग मुक्त बनाउने विशेष अभियानमा हामी लागेका छौं, यसको सुरुवात काठमाडौंबाट गरिएको छ,’ शनिबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा उनले भने, ‘अब दोस्रो चरणमा पर्सा बारा औद्योगिक करिडोरलाई लोडसेडिङ मुक्त बनाउने हाम्रो लक्ष्य छ ।’

    पछिल्लो समय आफूलगायत ऊर्जा मन्त्रालयको टिमले राजधानी, विराटनगर, पोखराका उद्योगी व्यवसायीहरूसँग गरेको भेटमा उनीहरूले हालका दिनमा घटेको लोडसेडिङले आफूहरूलाई ठूलो राहत भएको प्रतिक्रिया दिएको बताउँदै उनले भने, ‘उद्योग व्यवसाय क्षेत्रलाई सक्दो विद्युत् उपलब्ध गराउन हामी तयार छौं, तपाईंहरू नयाँ–नयाँ उद्योगधन्दा स्थापना गर्नुहोस् ।’ मुलुकलाई लोडसेडिङ मुक्त गर्न सके बर्सेनि मुलुकको कम्तीमा २० अर्ब रुपैया ँजोगिने बताउँदै उनले ऊर्जा मन्त्रायलयको टिमले गरेको कामको प्रतिफल अबका केही महिनाभित्र झनै बढी आउने दाबी गरे ।

    वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाले पर्सा बारा औद्योगिक करिडोरलाई लोडसेडिङ मुक्त बनाउन परवानीपुर रक्सौल प्रसारण लाइन अविलम्ब निर्माण हुनुपर्ने माग गरे । उनले यो प्रसारण लाइन निर्माणमा देखिएको अवरोध पन्छाएर काम अघि बढाउन पनि आग्रह गरे । शनिबार प्रेस सेन्टरले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले वीरगन्ज चिनी कारखाना सञ्चालन गर्नु आवश्यक रहेको बताए ।

     स्रोत:कान्तिपुर