प्रधानमन्त्री भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको २ सय मेगावाट विद्युत् उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा लाइनको व्यवस्था गर्ने वातावरण मिलाइदिन आग्रह

    1201

    प्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय समकक्षी मनमोहन सिंह र संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनसँग बेग्लाबेग्लै भेटवार्ता गरी नेपालको पछिल्लो राजनीतिक अवस्था, दलहरूबीच भइरहेको सहमति प्रयास र भारत, राष्ट्रसंघको सहयोगबारे छलफल गरेका छन् ।

    इरानको तेहरानमा शुक्रबार सम्पन्न असंलग्न राष्ट्रहरूको १६ औं शिखर सम्मेलनको ‘साइडलाइन’ मा प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्री र राष्ट्रसंघीय महासचिवलगायत विभिन्न देशका समकक्षीसँग एकल वार्ता गरेका हुन् । प्रधानमन्त्रीले बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग पनि शुक्रबार अपराह्न भेटवार्ता गरेका थिए ।

    भारतीय प्रधानमन्त्री सिंहसँग सम्मेलनस्थलकै लबीमा एक घन्टाभन्दा लामो समय भएको भेटवार्तामा संविधानसभा विघटनपछिको राजनीतिक स्थिति, शान्ति प्रक्रिया, संविधान लेखन र राजनीतिक दलबीच भइरहेको सहमति प्रयासबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘नाम’ सम्मेलनमा सहभागितासँगै प्रधानमन्त्री भट्टराईको प्राथमिकता सूचीमा भारतीय प्रधानमन्त्री सिंह थिए भने नयाँदिल्लीले पनि नेपाली समकक्षीसँग भेटवार्ता गर्ने सार्वजनिक गरेको थियो । ‘प्रधानमन्त्रीकै तहमा नेपाल-भारत द्वैपक्षीय वार्ता गर्ने भनेर प्रारम्भिक कुराकानी भएको थियो तर पछि साइडलाइनमै कुरा टुंगियो,’ परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीले भने ।

    परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार नेपालको राजनीतिक ‘डेडलक’ लाई जतिसक्दो चाँडो टुंग्याउनेबारे भारतीय प्रधानमन्त्री सिंहले चासो राखेका थिए । ‘डेडलक टुंग्याउनेबारे प्रयत्न र सम्भावना जारी रहेको प्रधानमन्त्री भट्टराईले बताउनुभएको मलाई जानकारी गराइएको छ,’ मन्त्री श्रेष्ठले भने । यसबाहेक नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरमा हुने संयुक्त संयन्त्रको बैठकको तदारुकताका बारे पनि प्रधानमन्त्री सिंहले चासो राखेका थिए ।

    तेहरानमा भएको वार्तामा प्रधानमन्त्री भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको २ सय मेगावाट विद्युत् उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा लाइनको व्यवस्था गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्री सिंहले नेपाललाई उपलब्ध गराउने सहमतिअनुसार छिट्टै विद्युत् उपलब्ध गराइने बताएका थिए । दुई प्रधानमन्त्रीबीचको विशेष भेटवार्तामा प्रधानमन्त्री भट्टराईले नेपालको आर्थिक समृद्धिमा सघाउन र नेपालमा लगानी बढाउन आग्रह गरेका थिए ।

    भारतीय प्रधानमन्त्री सिंहले नेपालको आग्रहअनुसार भारत सरकार नेपाललाई विशेष सहयोग गर्न तयार रहेको बताएका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति विशेष चासो राख्दै प्रधानमन्त्री सिंहले राजनीतिक संकटको समाधान नेपालका राजनीतिक दलहरूको सहमतिमै निस्कने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री भट्टराईले दलहरूका बीच सहमतिको प्रयास भइरहेको र संविधानसभाबाटै संविधान निर्माण्ा गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल प्रतिबद्ध रहेको धारणा राखेका थिए । ‘हामी सबै दल सहमति निर्माणका क्रममा छौं, छलफल र संवाद भइरहेको छ, छिट्टै सहमति गरेर अगाडि बढ्नेमा दलहरू एकमत रहेको मैले जानकारी गराएँ,’ प्रधानमन्त्री भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीले दलहरू मिलेर अगाडि बढ्नु नै नेपालको हितमा रहेको बताउनुभएको थियो ।