NEA MD transfered to Ministry

    1470

    काठमाडौं/ ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई मन्त्रालयमा तानेको छ । मन्त्रालयले प्राधिकरणका सञ्चालकद्वय लक्ष्मण अग्रवाल र मनोज मिश्रालाई बर्खास्त गरेको छ । प्राधिकरणका हाल ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको आदेशमा उनीहरूलाई कारबाही गरिएको हो । ‘विभागीय मन्त्रीले कार्यकारी निर्देशकलाई मन्त्रालयमा हाजिर गराउनु भनेकाले सोहीअनुसार गरिएको हो,’ ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षत्रीले बताए । सोलु करिडोरको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवाली, सञ्चालकद्वय अग्रवाल र मिश्रालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यस्तै, कार्यकारी निर्देशक काफ्लेलाई स्पष्टीकरण सोध्न अख्तियारले सरकारलाई पत्राचार गरेको थियो । काफ्ले खुला प्रतिस्पर्धामार्फत कार्यसम्पादन सम्झौता गरी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । प्राधिकरणका अर्का सञ्चालक सुरज लामिछानेलाई अख्तियारले स्पष्टीकरण सोधेको स्रोतले जानकारी दियो । उनी पुल्चोक क्याम्पसका स्थायी शिक्षक हुन् । ज्ञवाली, मिश्रा, अग्रवाल र लामिछानेले अख्तियारको कदमको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सचिव क्षत्रीलाई सरकारले आजै अर्को व्यवस्था नभएसम्मका लागि ऊर्जा मन्त्रालयको जिम्मेवारी हेर्नेगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको छ । सामान्य प्रशासनमा गएका ऊर्जासचिवले काफ्लेलगायतलाई कारबाही गरेका छन् ।

    स्रोत : नयापत्रिका