विद्युत्‌को ‘पिक डिमान्ड’ घट्यो

2032

काठमाडौँ — गत आर्थिक वर्षमा विद्युत्‌को उच्च माग (पिक डिमान्ड) करिब २ सय मेगावाटले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत वर्ष विद्युत्‌को उच्च माग औसत १ हजार ३ सय ३० मेगावाट थियो ।

आर्थिक वर्ष २०७४/७५ मा विद्युत्को उच्च माग औसत १ हजार ५ सय ८ मेगावाट थियो । गत आर्थिक वर्षको उच्च माग चार वर्षयताकै न्यून हो ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवमा आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा विद्युत्को उच्च माग घटेको तथ्यांक सार्वजनिक गरिएको हो । गत वर्ष ऊर्जा खपत भने १४ प्रतिशतले बढेको छ ।

वार्षिकोत्सवको अवसरमा प्रतिबद्धता सार्वजनिक गर्दै प्राधिकरणले विद्युत्को आन्तरिक खपत बढाउने र बाह्य बजार खोज्ने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को उच्च माग घट्नु र ऊर्जा खपत बढ्नु खुसीको कुरा भएको टिप्पणी गरे । ‘यो अवस्था आउनु हाम्रो लोड व्यवस्थापनका लागि खुसीको कुरा हो,’ उनले भने, ‘यसले हामीलाई निकै सजिलो बनाउँछ ।’ गत वर्ष १४ प्रतिशतले ऊर्जा खपत बढेको उनले बताए ।

उपभोक्ताले किफायती चिम प्रयोग गर्ने गरेका कारण विद्युतको उच्च माग घट्दै गएको घिसिङले बताए । ‘पिक आवरको बेला बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ता हुन्,’ उनले भने, ‘अहिले अधिकांशले लिड बल्ब प्रयोग गर्न थालेका छन् । यसले पनि पिक डिमान्ड घटेको हो ।’ चुहावटमा आएको नियन्त्रणका कारण पनि उच्च माग घटेको उनले बताए । प्राधिकरणले गत वर्ष विद्युत् चुहावट ५ प्रतिशत विन्दुले घटाएको छ ।

प्राधिकरणले यसै वर्षदेखि विद्युतको बढी प्रयोग गर्न उपभोक्तालाई प्रोत्साहित गर्ने भएको छ । घिसिङले बढी विद्युत् प्रयोगका लागि उपभोक्तालाई प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार प्राधिकरणले यसै वर्ष उपत्यकामा विभिन्न स्थानमा चार्जिङ स्टेसन स्थापना गर्नेछ । यो वर्ष कम्तीमा पनि ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने प्राधिकरणको लक्ष्य छ ।

सरकारले पनि ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । यसले गर्दा पनि ऊर्जा खपत बढ्ने प्राधिकरणको अनुमान छ । ऊर्जा मन्त्रालयका अनुसार अहिले प्रतिव्यक्ति विद्युत्खपत २ सय ४५ किलोवाट प्रतिघण्टा छ । मन्त्रालयले आगामी ५ वर्षमा प्रतिव्यक्ति विद्युत् खपतलाई १ हजार ५ सय किलोवाट आवर पुर्‍याउने लक्ष्य लिएको छ ।

नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर अन्य देशको तुलनामा निकै कम हो । निर्माणाधीन विद्युत् आयोजना सम्पन्न भएपछि आगामी वर्षदेखि देशमा उत्पादित विद्युत् खेर जाने प्राधिकरणको प्रक्षेपण छ । यही प्रक्षेपणको आधारमा प्राधिकरण र सरकारले देशबाहिर विद्युत्को बजार खोजी गरिरहेको छ ।

देशबाहिर विद्युत् बिक्रीका साथै देशभित्रै पनि विद्युत् खपत बढाउने योजना प्राधिकरणको छ । अहिले पनि औद्योगिक क्षेत्रमा करिब ३ सय मेगावाटको विद्युत् माग रहेको घिसिङले जानकारी दिए । उनका अनुसार विराटनगर, नेपालगन्ज, नवलपरासीजस्ता क्षेत्रमा स्टिल र सिमेन्ट उद्योगबाट विद्युतको उच्च माग भएपछि प्रसारण प्रणालीका कारण उपलब्ध गराउन सकिएको छैन । यी उद्योगको मागअनुसार विद्युत् वितरणका लागि संरचना निर्माणलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

प्राधिकरणले गत वर्ष बिक्री गरेको कुल ऊर्जाको ३८ प्रतिशत ऊर्जा औद्योगिक ग्राहकलाई बिक्री गरेको थियो । प्राधिकरणको वार्षिकोत्सवमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणलाई सरकारी संस्थानहरूमध्ये १ नम्बर बनाउने घोषणा गरेका थिए । उनले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ८ अर्ब रुपैयाँभन्दा बढी बनाउने प्रतिबद्धता जनाए ।

प्राधिकरणले गत वर्ष ७ अर्ब २० करोड खुद नाफा कमाएको थियो । तीन वर्षअघि प्राधिकरण ८ अर्ब ८९ करोड खुद घाटामा थियो । अहिले प्राधिकरणको सञ्चिति घाटा करिब १५अर्ब छ ।

सञ्चिति घाटालाई शून्यमा झारी प्राधिकरणलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव प्राधिकरणको सञ्चालक समितिले अर्थ मन्त्रालयमा पेस गरेको छ । सरकारले प्राधिकरणको २५ प्रतिशत सेयर निष्कासन गर्न स्वीकृति दिइसकेको छ ।

स्रोत :कान्तिपुर