गुणस्तरहीन ट्रान्सफर्मर आयात प्रकरण – प्राधिकरणका नयाँ र पुराना महाप्रबन्धक छानबिनमा पर्ने

    2619

    गुणस्तरहीन विद्युतीय ट्रान्सफर्मर आयात प्रकरणमा नयाँ तथा पुराना महाप्रबन्धकको संलग्नता देखिएपछि विद्युत् प्राधिकरण सञ्चालक समितिले थप छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्ने भएको छ ।
    सिन्धुपाल्चोक र अन्य वितरण केन्द्रका सातवटा ट्रान्सफर्मर लैनचौरस्थित आफ्नो वर्कसपमा परीक्षण गर्दा सबैमा तामाको तारको सट्टा आल्मुनियम भेटिएपछि प्राधिकरण यस्तो निर्णयमा पुगेको हो । परीक्षणपछि चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीका ट्रान्सफर्मर नक्कली भएको पत्ता लागेको छ ।
    अब बस्ने सञ्चालक समिति बैठकले थप छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई औपचारिक रूपमा अनुरोध गर्ने तयारी भएको एक अधिकारीले बताए ।
    उनका अनुसार पाँच वर्षयता प्राधिकरणका वितरण तथा ग्राहक सेवा विभागमा कार्यरत सबै महाप्रबन्धक छानबिनको दायरामा पर्ने सम्भावना छ । “यसमा वर्तमान कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठदेखि युगलकिशोर साह, रामेश्वर यादव सबै पर्ने देखिन्छ,” उनले भने ।
    विद्युतीय ट्रान्सफर्मरबाट अत्यधिक चुहावट हुने, पड्कनेजस्ता समस्या आएपछि प्राधिकरणले सञ्चालक डा. कृष्णप्रसाद दुलालको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको थियो । उपसमितिले प्राधिकरणका केन्द्रीय र हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा आयातीत सबै ट्रान्सफर्मर गुणस्तरहीन रहेको पत्ता लगाएको थियो । ती ट्रान्सफर्मरमा गम्भीर समस्या रहेको र चुहावट मापदण्डभन्दा तीन गुणा बढी भएको भन्दै उपसमितिले अधिकांश ट्रान्सफर्मरमा जल्ने र पड्कने समस्या भेटाएको थियो ।
    प्रतिवेदनले यसमा उच्च तहका कर्मचारीलाई मुछेपछि अर्का सञ्चालक मोहन पन्तको संयोजकत्वमा फेरि छानबिन समिति गठन गरिएको थियो । तर, यो समितिले प्रभावकारी काम गर्न नसकेको ती अधिकारीले बताए । आफू पनि यसमा पर्ने सम्भावना देखेपछि केही महाप्रबन्धकहरूले उपसमितिको प्रतिवेदन गलत भएको जिकिर गरेका थिए । पछि उपकरणको परीक्षण गर्दा गलत नभएको देखिएको थियो ।
    उपसमितिको प्रतिवेदनमा सहवन्त इलेक्ट्रिक कम्पनी लिमिटेड (थाइल्यान्ड), सेनयाङ डोङजेङ इलेक्ट्रिसिटी इक्युपमेन्ट कम्पनी लिमिटेड (चीन), एसभीआर इलेक्ट्रिकल प्रालि (चीन), हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेड (चीन) र निग्वो एयूएक्स हाइटेक्नोलोजी कम्पनी लिमिटेड (चीन)बाट आयात गरिएका सबै ट्रान्सफर्मर गुणस्तरहीन भएको उल्लेख छ ।
    यसमध्ये सबैभन्दा गुणस्तरहीन ट्रान्सफर्मर सहवन्तको छ । उसका सबै ट्रान्सफर्मर ‘स्ट्रङ्ली रिजेक्टेड’ भनी उपसमितिले प्रतिवेदन दिएको छ । यस्तै सेनयाङ, एसभीआर, हुवेई र निङबोका ट्रान्सफर्मरलाई ‘अस्वीकार’ भनिएको छ । यी पाँच कम्पनीबाट २०६३ देखि विभिन्न क्षमताका साढे ६ हजार ट्रान्सफर्मर खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ ।
    ३३ केभी भोल्टेजतर्फको १ सय केभीए क्षमतायुक्त ट्रान्सफर्मर परीक्षण गर्दा ‘नो लोड लस’ १ सय ८१ वाट पाइएको छ, जुन प्राधिकरणले तोकेको २ सय ९० भन्दा धेरै कम हो । त्यस्तै ‘फुललोड लस’ ३ हजार ५ सय २९ पाइएको छ, जुन प्राधिकरणले निर्धारण गरेभन्दा दोब्बर हो । प्राधिकरणले न्यूनतम ‘फुल लोड लस’ १ हजार ८ सय वाट निर्धारण गरेको छ । अधिकांश कम्पनीका ११ केभी क्षमतायुक्त ट्रान्सफर्मर निर्धारित मापदण्डभन्दा तीन गुणा कम छन् । ट्रान्सफर्मरको तौल पनि कम भएको उपसमितिले जनाएको छ ।
    दुई वर्षअघि तत्कालीन सञ्चालक मुकेशराज काफ्लेको संयोजकत्वमा गठित अध्ययन समितिले पनि अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा परीक्षणपछि मापदण्डअनुरूप भएमात्र जडान गर्न सिफारिस गरिएको थियो । प्राधिकरण व्यवस्थापनले यो सिफारिस पनि कार्यान्वयन गरेको थिएन ।
    प्राधिकरणले ०६३ सालयता चीन र थाइल्यान्डलबाट ४ हजार ६ सय ५७ वटा ट्रान्सफर्मर खरिद गरेको छ ।
    गत वर्ष कुल उत्पादित बिजुलीमध्ये २८ प्रतिशत चुहावट भएको थियो, जसबाट वार्षिक ६ अर्ब रुपैयाँबराबर घाटा हुँदै आएको प्राधिकरणले जनाएको छ ।

    प्रस्तुति:  कारोबार