५३६ मेगावाटको सुनकोसी–तेस्रो जलाशयको अध्ययन अन्तिम चरणमा

1874

काभ्रेपलाञ्चोक । सुनकोसी–तेस्रो ५३६ मेगा वाट जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनियरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको छ ।

प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम बाँकी छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार इआइए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ ।

कोभिड–१९ का कारण पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण केही प्रक्रिया पर धकेलिएको हो । “कोभिडका कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर कामगर्ने वातावरण नभएकाले इआइएको काम केही धकेलिएको हो”, थपलियाले भने ।

परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोसी–तेस्रोको टीओआर भने एक वर्षअघि नै अर्थात् गत वर्ष माघमा विद्युत् विकास विभागलाई बुझाइसकेका थिए ।

टीओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो ब्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजनाको इआइएका लागि क्षेत्र निर्धारण गर्न गत साल नै प्रक्रिया शुरु गरिए पनि कोभिडका कारण एक वर्ष लम्बिएको विभागले जनायो ।

एक वर्षअघि आयोजनाबाट प्रभावित पर्न सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घ-संस्थाबाट सुझावसमेत मागिएको थियो ।

विभागले सुनकोशी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न ३३ करोड रुपैयाँ लाग्ने थपलियाले बताए ।

परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ ।

प्रस्तावित आयोजना सुनकोसी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई १ किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङ्गबाट लुभूघाटनजिक निर्माण गरिने विद्युतगृहमा लगिनेछ । विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिनेछ ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब १ हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नपा, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युतगृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछन् ।

सन् १९८५ मै जापान इन्टरनेसनल कोअपरेसन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युतमध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।

विसं २०७५ चैतमा काठमाडौं सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।

स्रोत :क्यापिटल नेपाल