तमोर जलाशय आयोजना अघि बढ्ने सङ्केत

    1587

    tamor-hep

    कात्तिक २१, पाँचथर । जलाशयमा आधारित तमोर जलविद्युत् आयोजना निर्माणका लागि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका नेताहरूको संयुक्त पहलले गति लिएपछि सो आयोजना निर्माणप्रति स्थानीय बासिन्दामा आशा पलाएको छ ।

    ३ दशकअघि सन् १९८६ मा जापानी सहयोग नियोग (जाइका) र नेपाल विद्युत् प्राधिकरणले कोशी जलविद्युत् विकासको अध्ययनका सन्दर्भमा तमोर जलाशययुक्त आयोजना निर्माण गर्न सकिने निष्कर्ष निकालेको थियो । त्यसबेला आयोजनाबाट ७ सय ६२ मेगावाट विद्युत् उत्पादन गर्न सकिने जानकारी नेपाल सरकारलाई दिइएको थियो । त्यसपछि भने उक्त आयोजना निर्माणको विषयमा चर्चासमेत हुन छाडेको थियो । तर, पछिल्लो समय जलाशययुक्त जलविद्युत् सरोकार समिति गठन गरेर आयोजना निर्माणका लागि तीव्र दबाब दिइएसँगै आयोजनाप्रति स्थानीयहरू आशावादी बनेका हुन् ।

    दबाबकै क्रममा पूर्वसांसद वसन्तकुमार नेम्वाङ संयोजक रहेको उक्त समितिले पछिल्लोपटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत ज्ञापनपत्र बुझाइसकेको छ । साथै नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले मात्रै ऊर्जासङ्कट समाधान गर्न नसकिने निष्कर्षसाथ जलाशययुक्त जलविद्युत् उत्पादनमा चासो देखाएसँगै पुनः जलाशयमा आधारित तमोर जलविद्युत् आयोजनाप्रति स्थानीय बासिन्दा आशावादी बनेको नेपाल अलैंची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताए ।

    गत शनिवार एक नम्बर प्रदेशअन्तर्गत तमोर जलाशययुक्त आयोजना निर्माणका लागि ध्यानाकर्षण गराउन गएको समन्वय समितिका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले ‘उक्त परियोजनाबारे सरकारको ध्यान गइसकेको र आफूले ऊर्जा मन्त्रालयलाई काम अघि बढाउन निर्देशन दिइसकेको बताएको समितिका संयोजक नेम्बाङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले उक्त आयोजना एक नम्बर प्रदेशकै गौरव हुने भन्दै त्यसको निर्माणमा स्थानीयसँग समन्वय गर्न समितिका पदाधिकारीलाई अनुरोध गरेका थिए ।

    प्रारम्भिक अध्ययनअनुसार उक्त आयोजनाबाट तमोर नदीकिनारमा रहेका माझीटार, नक्कलेघाट, पिनासीघाट, लुबुटारलगायत क्षेत्रका झण्डै १ सय ५० परिवार विस्थापित हुने देखिएको छ । साथै, तल्लो हेवा जलविद्युत् आयोजना, माथिल्लो हेवा जलविद्युत् आयोजना र कावेली ए आयोजनासमेत प्रभावित हुने देखिएको छ । परियोजनाबाट प्रभावित हुनसक्ने घरपरिवार, भौतिक संरचनालगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै बोल्न सकिने संयोजक नेम्वाङले बताए । आयोजना निर्माणको विषय पुनः चुलिएपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बासिन्दामा भने खुशीको सञ्चार भएको छ ।

    Source: Abhiyan