नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण गरिने’

    1408

    20161107105628_janardan-sharma

    कात्तिक २२, जाजरकोट । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् ।

    नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आइतवार दल्लीमा आयोजित कार्यक्रममा उनले सो आयोजना सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताए । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उनले  सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेशन गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ऊर्जामन्त्री शर्माले आइतवार नै आयोजनास्थलको स्थलगत निरीक्षणसमेत गरेका छन् । मुलुकका ९३ ओटा जलाशययुक्त आयोजनामध्ये नलसिङगाड उत्कृष्ट भएको सो आयोजनाका कार्यकारी निर्देशक मोतीकुमार कुँवरले बताए  । सन् २०१२ को प्रारम्भिक अध्ययनअनुसार ४१० मेगावाट क्षमताको सो आयोजना रू. ७३ अर्ब ७३ करोड ९० लाखको लागतमा निर्माण गर्न सकिने उनको भनाइ छ ।

    आयोजनाअन्तर्गत सक्ला–१ अँधेरी खोलामा ६ दशमलव ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको २ सय  मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधदेखि खगेनकोट गाविसको काँडादल्लीसम्म कुल आठ हजार २१५ मिटर लामो सुरुङ निर्माण गरिने छ । रासस