मिस्त्रीखोला आयोजना निर्माण शुरू

    1319

    मङ्सिर १५, बाबियाचौर (म्याग्दी) । म्याग्दीको नारच्याङ गाविस–१ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य शुरू भएको छ । रू. ५ अर्ब ६४ करोडको लागतमा रोबर्ट इनर्जी कम्पनीले निर्माण शुरू गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । १ सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम शुरू गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर दामोदर श्रेष्ठले जानकारी दिए । ‘छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम शुरू गर्ने तयारी भएको छ,’ उनले भने । नारच्याङ बेँसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म ९ किलोमिटर सडक र तीनओटा बेलीब्रिज निर्माण भइसकेको छ । २ हजार ३ सय मिटर सुरुङबाट ल्याइने पानी ३ सय ४ मिटरको हेडबाट नारच्याङ बेँसीमा निर्माण हुने विद्युत्गृहमा खसालेर बिजुली निकालिनेछ ।

    आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । नेपाल इन्भेष्टमेण्ट बैङ्कसँग रू. ७० करोड, जलविद्युत् विकास कम्पनीसँग रू. १ अर्ब र नेपाल बैङ्कसँग रू. ५० करोड ऋण सम्झौता भइसकेको छ । यसैगरी नबिल बैङ्कबाट रू. १ अर्ब, लक्ष्मी बैङ्कबाट रू. ४० करोड, सिद्धार्थ बैङ्कबाट रू. ३० करोड र एस डेभलभमेण्ट बैङ्कबाट रू. ३० करोड ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ । मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २ सय २० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन र दाना सबस्टेबन निर्माणमा ढिलाइ गर्दा सो आयोजना ९ वर्षपछि धकेलिएको हो । रासस