अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी ९६.६३ प्रतिशत नगद र ८० प्रतिशत बोनस शेयर

    3086

    असोज ६, काठमाडौं ।

    arun_Valley_detailsअरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत १० वर्षमा लगानीकर्तालाई ९६ दशमलव ६३ प्रतिशत नगद र ८० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० को नाफाबाट आफ्ना शेयर सदस्यहरूलाई १५ प्रतिशत बोनस शेयर दिएको थियो । कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले सो बोनस शेयर दिएपछि कम्पनीको चुक्ता पूँजी रू.३५ करोड पुगेको अभियानलाई बताए । आव २०६९/७० सम्म कम्पनीको चुक्ता पूँजी रू.३० करोड ४१ लाख रहेको थियो । उनका अनुसार हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रू.७० करोड पुग्नेछ ।’ कम्पनीले १ बराबर १ हकप्रद शेयर जारी गर्दै छ । कम्पनीले आगामी मङ्सिरको अन्त्यसम्ममा हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको छ ।

    न्यौपानेले भने, हामी कम्पनीलाई एक सशक्त जलविद्युत् कम्पनी बनाउने योजनामा छौं । त्यसैले साढे दुई वर्षभित्रै २५ मेगावाट क्षमताको कावेली बी–१ आयोजना निर्माण गर्ने उनले जानकारी दिए । सो आयोजना निर्माणपछि थप लाभांश वितरण गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीले कावेली बी–१ आयोजना निर्माणका लागि रकम जुटाइरहेको छ । ‘आयोजना निर्माण गर्न चाहिने लगानीका लागि हकप्रद शेयर जारी गर्दै छौं,’ उनले भने । साथै कम्पनीको जगेडा कोष र नाफासमेत नयाँ आयोजना निर्माणमा लगानी गर्ने कम्पनीले जानकारी दिएको छ । अरुणभ्यालीकै सहायक कम्पनी अरूण कावेली पावर लिमिटेडले निर्माण गर्न लागेको सो आयोजना पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा पर्छ । सो आयोजना २०७२ सालको अन्त्यसम्ममा पूरा गरिने पनि उनले बताए । विद्युत् खरीद सम्झौता–पीपीए)लगायतको काम पूरा भइसकेको पनि कम्पनीले बताएको छ ।

    कम्पनीले आगामी ३ वर्षमा आफूले उत्पादन गर्ने विद्युत् ५० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । तीनओटा आयोजनाबाट ५ दशमलव ९ मेगावाट विद्युत् उत्पादन गरिसकेको कम्पनीले थप तीन आयोजना निर्माण गर्ने तयारी गरिरहेको न्यौपानेले बताए । ‘कम्पनीले थप आयोजना निर्माण गर्दै जाने लक्ष्य लिएको छ,’ उनले भने ‘आयोजना ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने भएकाले पनि नयाँ आयोजना निर्माण गर्नुको विकल्प छैन ।’ आर्थिक वर्ष २०५४/५५ मा स्थापना भएको सो कम्पनीले ३ मेगावाटको पिलुवाखोला, २ दशमलव ४ मेगावाटको रिडीखोला र शून्य दशमलव ५ मेगावाटको रैराङ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । ‘ती तीनै आयोजना मुलुक चरम द्धन्द्धको चपेटाबाट गुज्रिरहेको समयमा निर्माण भएका आयोजना हुन,’ उनले भने, ‘हाल आयोजना निर्माणमा केही सहजता आएकाले थप निर्माण गर्न लागिएको हो ।’

    Source : Abhiyan