पावर ट्रान्सफर्मर उत्पादन गर्दै नीक ४० एमभीएसम्मको उत्पादन गर्ने क्षमता

    3315

    असोज ६, काठमाडौं ।

    neek

     

    नेपाल इकरात इञ्जिनीयरिङ कम्पनी प्रालि (निक)ले ‘पावर ट्रान्सफर्मर’ उत्पादन गर्ने भएको छ । ट्रान्सफर्मर, स्टेबलाइजरलगायत विद्युतीय सामग्री उत्पादन गर्दै आएको निकले अब ‘पावर ट्रान्सफर्मर’ पनि उत्पादन थाल्ने कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीले अभियानलाई बताए । ‘कम्पनीसँग आवश्यक प्रविधि तथा दक्ष जनशक्ति तयार छ,’ उनले भने, ‘अब मागअनुसार पावर ट्रान्सफर्मर उत्पादन गर्न सक्छौं ।’ यस्तो ट्रान्सफर्मर निर्माण गरेर त्यसको व्यावसायिक विस्तार गर्ने कम्पनीको आगामी योजना रहेको जोशीको भनाइ छ । ‘नेपाली बजारमा धेरै कम मात्र पावर ट्रान्सफर्मरको माग हुने गरेको छ,’ उनले भने, ‘तैपनि यसको मागअनुसार उत्पादन गर्न थाल्दै छौं ।’ केही महीनाअघि जलेर काम नलाग्ने भएको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको पावर ट्रान्सफर्मरको मर्मत पनि निकले नै गरेको थियो । आयोजनाले तोकेको समयमै सो मर्मत पूरा गरिएको कम्पनीले बताएको छ । कम्पनीले ४० एमभीएसम्मको पावर ट्रान्सफर्मर उत्पादन गर्न सक्ने बताएको छ । बढी भोल्टेजको विद्युत् प्रवाहलाई कम(स्टेप डाउन) र कम भोल्टेजको विद्युत् प्रवाहलाई बढी (स्टेप अप) बनाउन ट्रान्सफर्मर प्रयोग गरिन्छ ।

    Source : Abhiyan