बेतन कर्णालीलाई बैंकले ऋण दिने

    2169

    काठमाडौँ — सञ्चयकर्ताको लगानीबाट निर्माण गरिने ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा बैंकहरूले २५ अर्ब रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएका छन् । ऋण व्यवस्थापनका लागि बिहीबार कर्मचारी सञ्चय कोषले नबिल र एसबीआई बैंकसँग समझदारी गरेको छ ।

    समझदारीपत्रमा कोषका कार्यबाहक प्रमुख प्रशासक दीपक रौनियार, नबिलका नायब प्रमुख कार्यकारी अधिकृत अनील शाह र एसबीआईका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरबीच हस्ताक्षर भएको जारी विज्ञप्तिमा उल्लेख छ । बैंकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने समझदारी भएको जनाइएको छ ।

    सञ्चय कोषको अधिकांश लगानी रहेको बेतन कर्णाली आयोजना निर्माणका लागि बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड गठन भएको छ । आयोजनामा सञ्चयकर्ताको ४० प्रतिशत सेयर स्वामित्व छ । सञ्चय कोषको १५ प्रतशित, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सेयर सर्वसाधारणबाट संकलन गर्ने तयारी छ ।

    आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बन्ने क्रममा छ । आयोजनाको लागत ७० अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । आयोजनाको लागतमध्ये २१ अर्ब रुपैयाँ सेयर पुँजीबाट र बाँकी ४९ अर्ब रुपैयाँ ऋणबाट व्यवस्थापन गर्ने सञ्चय कोषको तयारी छ ।

     

    – कान्तिपुर