Investment of 160 billion in Hydropower

    1258

    KATHMANDU,  December 23,2013 –
    hydro_artIn first 4 months of the current fiscal year, half a billion of investment company registered in the commitment to 14 hydropower. Industry department, said the project commitment to 5 hundred 68 megawatts of electricity have been proposed.

    काठमाडौ, पुस ८ –
    चालू आर्थिक वर्षको ४ महिनामै साढे एक खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित १४ जलविद्युत् कम्पनी दर्ता भएका छन् । उद्योग विभागको तथ्यांकअनुसार ती आयोजनाले १ खर्ब ६० अर्ब १६ करोड ८ लाख रुपैयाँ लगानीको प्रतिबद्धतासहित ५ सय ६८ मेगावाट बिजुली उत्पादन गर्ने प्रस्ताव गरेका छन् ।

    जलविद्युत्मा ४ महिनामा आएको लगानी प्रतिबद्धता गत आर्थिक वर्षभर सबै क्षेत्रमा भएको लगानी प्रतिबद्धताभन्दा पनि बढी हो । आर्थिक वर्ष ०६९/७० मा सबै क्षेत्रमा गरी १ खर्ब १९ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता थियो । तर १४ वटा जलविद्युत्मा मात्रै छोटो अवधिमै अघिल्लो वर्षको सबै क्षेत्रको भन्दा ४० अर्ब रुपैयाँ बढीको प्रतिबद्धता छ ।

    ‘दर्ता भएका सबै कम्पनीले लगानी गरेरै देखाउँछन् जस्तो लाग्दैन,’ अर्थविद् केशव आचार्यले भने, ‘तर पनि जलविद्युत्मा मात्रै नभई अन्य क्षेत्रमा पनि लगानी बढेकाले राजनीतिक स्थायित्व हुने आशासहित निजी क्षेत्र उत्साहित भएको मान्न सकिन्छ ।’

    कांग्रेस र एमालेले सरकार बनाउँछन् र बजारमैत्री वातावरण सिर्जना हुन्छ भनेर सेयरमा लगानी बढेझंै जलविद्युत्मा पनि बढेको हुन सक्ने अनुमान आचार्यले गरे । ‘कमजोर पूर्वाधार र असहज श्रम वातावरणमा पनि राजनीतिमा सामान्य हेरफेर हुँदा निजी क्षेत्रले लगानी गर्न सक्छ भन्ने उदाहरण पनि हो यो,’ उनले थपे ।

    उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीका अनुसार प्रतिबद्धता जनाउनेमा विदेशी लगानीकर्ता पनि छन् । एउटा कम्पनीले शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी -एफडीआई) भित्र्याउने भएको छ । भारतको एसजेबीएन लिमिटेड एक्लैले एक जलविद्युत् कम्पनी दर्ता गरेको हो । एसजेबीएन अरुण-३ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले दर्ता गरेको हो । संखुवासभामा बन्ने सय मेगावाटको उक्त आयोजनामा ८२ अर्ब ८५ करोड लगानी गर्ने प्रस्ताव छ । अर्को एक कम्पनीमा पनि विदेशी लगानी आउने प्रतिबद्धता छ । हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साढे २४ प्रतिशत विदेशी लगानीसहित जलविद्युत् कम्पनी दर्ता गरेको हो । कास्कीमा उत्पादन गर्ने प्रतिबद्धता जनाएको उक्त कम्पनीले सात अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको छ ।

    विभागका अनुसार गत आर्थिक वर्षसम्ममा निजी क्षेत्रले जलविद्युत्मा २ खर्ब ६९ अर्ब लगानीको प्रतिबद्धता जनाएको छ । संंख्यात्मक रूपमा ऊर्जामूलक उद्योग कम दर्ता हुने गरे पनि निजी क्षेत्रले सबैभन्दा बढी लगानी प्रतिबद्धता जलविद्युत् क्षेत्रमा गरेको देखिएको छ । आर्थिक वर्ष ०६९/७० को अन्त्यसम्म ऊर्जामूलक उद्योगको दर्ता संख्या १ सय ८४ छ ।

    उक्त तथ्यांक विभागमा दर्ता हुने तीन करोड रुपैयाँभन्दा बढी लगानीका कम्पनीको मात्रै हो । तीन करोड रुपैयाँभन्दा कम लगानीको उद्योग साना तथा घरेलु विकास कार्यालयमा दर्ता हुन्छन् । तर कुनै पनि ऊर्जामूलक उद्योग तीन करोड रुपैयाँभन्दा कम लगानीमा सञ्चालन गर्न सक्ने सम्भावना नभएकाले उक्त तथ्यांक नै निजी क्षेत्रको वास्तविक लगानी भएको सरोकारवालाको दाबी छ ।

    ०४७/४८ मा पहिलो पटक २ करोड ३४ लाख रुपैयाँ लगानीमा एउटा मात्रै ऊर्जामूलक उद्योग दर्ता भएको थियो । त्यसपछिका ०४९/५०, ०५१/५२ मा क्रमशः दुई र एउटा उद्योग दर्ता भएका थिए । त्यसपछिका चारवटा आर्थिक वर्षमा एउटा पनि ऊर्जामूलक उद्योग दर्ता भएनन् । एकैपटक ०५६/५७ देखि ऊर्जामूलक उद्योगमा निजी क्षेत्रले दर्ता गरी लगानी गर्न खोजेको देखिन्छ । बजारबाट सर्वसाधारणसँग पैसा उठाउनुको उपयुक्त समय अहिले भएकाले जलविद्युत् कम्पनी दर्ता बढेको सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए । ‘निर्माण सुरुको एक वर्षमै सेयर जारी गरी रकम उठाउन पाइन्छ । लगानीकर्ताले त्यसको उपयुक्त क्षेत्र अहिले जलविद्युत्लाई देखे,’ उनले भने ।

    Source : Kantipur