खानीखोला १ को काम अन्तिम चरणमा

1258

दोलखा, असार ८ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन खानीखोला १ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–७, मार्बुस्थित कोपलाङमा निर्माणाधीन ४० मेगावाट आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको हो । सदरमुकाम चरिकोटबाट करिब ६३ किलोमिटर उत्तरतर्फको विकट हिमाली क्षेत्रमा निर्माणाधीन यो आयोजनाको निर्माण कार्य ग्रिन लाइफ हाइड्रो पावर लिमिटेडले २०६६ वैशाख १ गतेदेखि सुरु गरेको थियो ।दोलखा, असार ८ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन खानीखोला १ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–७, मार्बुस्थित कोपलाङमा निर्माणाधीन ४० मेगावाट आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको हो । सदरमुकाम चरिकोटबाट करिब ६३ किलोमिटर उत्तरतर्फको विकट हिमाली क्षेत्रमा निर्माणाधीन यो आयोजनाको निर्माण कार्य ग्रिन लाइफ हाइड्रो पावर लिमिटेडले २०६६ वैशाख १ गतेदेखि सुरु गरेको थियो ।

करिब १० वर्षमा एक किलोमिटर ९५५ मिटर लम्बाइको सुरुङ, २८० मिटरको ठाडो सुरुङ र सात सय मिटर खुल्ला पेनस्टक पाइप जडानको काम सम्पन्न भएको छ । च्छोकुम खोला र हनपु खोलाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनामा जम्मा तीनवटा टर्वाइन जडान गरिने छ । च्छोकुम खोलाबाट दुईवटा टर्वाइन चलाएर २५ मेगावाट र हनपु खोलाबाट एउटा टर्वाइन चलाएर १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको ग्रिन लाइफ हाइड्रो पावर लिमिटेडका निर्देशक केसाङ लामाले जानकारी दिनुभयो । समद्री सतहबाट करिब ३३ सय मिटरको उचाइमा निर्माणाधीन इन्टेकको काम ८० प्रतिशत सकिएको छ ।

ठेकेदार कम्पनी ईआईबी (इको इन्फ्रा बिल्डर्स)का प्रबन्ध निर्देशक टासी लामाले हाइड्रो मेकानिकलको काम अन्तिम चरणमा पुग्नुका साथै दुई सय मिटरभित्रको भूमिगत विद्युत् गृहमा इलेक्ट्रोमेकानिकलको काम सुरु गरिएको बताउनुभयो । उहाँले विद्युत् गृहदेखि सिंगटी सब–स्टेसनसम्मको प्रसारण लाइनको काम तीन महिनाभित्र सकिने बताउनुभयो । निर्माण सम्पन्न भइसक्दा आयोजनाको लागत करिब साढे छ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । जसमा प्राइम कमर्सियल बैङ्कको नेतृत्वमा नबिल बैङ्क, सिटिजन्स बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल बैङ्क, सेन्चुरी बैङ्क, सिभिल बैङ्क, नेपाल इनभेस्टमेन्ट बैङ्क र ज्योति विकास बैङ्क गरी ७० प्रतिशत कर्जा लगानी रहेको आयोजनाले जनाएको छ ।

त्यसैगरी कम्पनीले आयोजना प्रभावितका लागि छुट्याइएको १० प्रतिशत सेयर खुला गरिसकेको छ भने सर्वसाधारणका लागि जारी गर्नुपर्ने १० प्रतिशत साधारण सेयर केही समयमा खुल्ला गर्ने बताइएको छ ।
ग्रिन लाइफ हाइड्रो पावर लिमिटेडले पाँच वर्षमा सकाउने गरी सुरु गरेको यो आयोजनाको काम निर्धारित समयभन्दा झण्डै पाँच वर्षपछि धकेलिएको हो ।

दोब्बर समय लाग्दासमेत निर्माण सम्पन्न नहुनुको मुख्य कारण भौगोलिक कठिनाइ रहेको निर्देशक केसाङले बताउनुभयो ।

उहाँले भोर्ले र गुरुङफी दुई ठाउँमा बेलीब्रिज राखेर उच्च हिमाली क्षेत्रमा करिब २९ किलोमिटर सडक निर्माण गरेर सामान ढुवानी गर्न नै समय लागेकोले आयोजनाको काम ढिलो भएको बताउनुभयो ।
हिमपात र वर्षाका कारण छ महिना मात्रै काम गर्नुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो । भूकम्प र नाकाबन्दीले काममा थप समस्या निम्त्याएकोले ढिलो हुन पुगेको बताउँदै उहाँले चाँडोमा दशैँपछि र ढिलोमा पुससम्म २५ मेगावाट विद्युत् उत्पादन गरिसक्ने बताउनुभयो ।

४० मेगावाट नै विद्युत् उत्पादन गर्ने संरचना बन्दै गरेको उल्लेख गर्दै उहाँले हनपु खोलाबाट पानी ल्याउने बित्तिकै अर्को १५ मेगावाट विद्युत् थपिने बताउनुभयो । उहाँले उक्त काम २०७७ पुससम्म सकिने बताउनुभयो ।

 

स्रोत:गोर्खापत्र