रानी जमराबाट अब विद्युत् उत्पादन

    267

    सिँचाइ सुविधाका लागि निर्माणको क्रममा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट जलविद्युत् पनि उत्पादन गरिने भएको छ । सिँचाइका साथै जलविद्युत् उत्पादनको सम्भावना देखिएपछि सरकारले काम अगाडि बढाएको हो । विद्युत् समेत उत्पादन हुने भएपछि अब यो राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भएको छ ।
    करिब एक सय वर्ष पुराना परम्परागत कुलरिया, जमरा र रानीसमेत गरी तीनवटा कुलोलाई व्यवस्थित नहरका रूपमा ढालेर ३८ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका यो आयोजना निर्माण अघि बढाइएको थियो । आयोजनामा थोरै लागतमा जलविद्युत् उत्पादन हुने सम्भावना देखिएपछि प्रक्रिया सुरु गरिएको सिँचाइ मन्त्रालयले जनाएको छ । कर्णाली नदीबाट पानी ल्याएर निर्माण गर्न थालिएको सिँचाइ आयोजनाबाट ४.७ मेगावाट जलविद्युत् उत्पादन हुने भएको छ ।

    सरकार र विश्व बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजनाको मूल नहरमै जलविद्युत् गृहको निर्माणको काम भइरहेको आयोजनाका प्रमुख शुशीलचन्द्र आचार्यले जानकारी दिनुभयो । मूल नहर क्षेत्रमा हेडवक्र्स भेटिएकाले जमिनमुनि विद्युत्गृह निर्माण गरी सिँचाइ आयोजनालाई असर नपर्ने गरी जलविद्युत् उत्पादन थालिएको हो ।
    आयोजना प्रमुख आचार्यले भन्नुभयो, सिँचाइका संरचना निर्माणको काम सँगसँगै जलविद्युत् उत्पादनका संरचना निर्माण गर्न ठेक्कापट्टा दिने काम भइसकेको छ । विद्युत् उत्पादनगृह निर्माणका लागि जमिन खन्ने काम भइरहेको छ । सिँचाइ सुविधासँगै जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।
    सिँचाइसहित जलविद्युत् उत्पादन गरेका भारतका विभिन्न आयोजनाको अध्ययन भ्रमण गरेर सरकारी प्राविधिक टोलीले आयोजना सहजका साथ निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । आयोजना प्रमुख आचार्यले भन्नुभयो, भारतमा यस्ता धेरै आयोजना देखेपछि यहाँ पनि गर्न सकिने साहस र दृढता बढेर आएको छ । त्यसैले हामीले विद्युत्गृहका यन्त्र उपकरणका लागि खरिद आदेश पनि दिइसकेको छौँ । चाँडै आवश्यक उपकरण र टर्बाइनका सामान नेपाल आइपुग्छन् ।
    आयोजनाको पहिलो चरणमा सरकारले आफ्नो लगानीमा कर्णाली नदीको चिसापानीमा इन्टेक तथा लिन्क क्यानल निर्माण तथा अन्य संरचना निर्माण र तल्लो क्षेत्रमा कल्भर्ट, पुल निर्माण तथा नदी नियन्त्रणका कार्य सम्पन्न भइसकेका छन् । विश्व बैङ्कको दस वर्ष निब्र्याजी ऋण तीन अर्ब ७० करोड, नेपाल सरकारको ५० करोड र स्थानीय तहबाट १० करोड रुपियाँ बराबरको साझेदारीमा पहिलो चरणको कार्य भएको बताइएको छ ।
    आयोजनाका अनुसार पथरैया नदीदेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले चालू आर्थिक वर्ष भित्र विस्तृत सर्भेक्षण तथा अध्ययनका कार्य सम्पन्न गर्न परामर्शदातालाई छनोट गरिसकिएको छ । विस्तारित काम सञ्चालन गर्न लाग्ने लागतका लागि निकट भविष्यमै विश्व बैङ्कसँग ऋण सम्झौता गर्न अर्थ मन्त्रालयले तयारी गरिरहेको छ ।
    कर्णाली नदीबाट हरेक वर्ष परम्परागत कुलो निर्माण गरी मुस्किलले सिँचाइ सुविधा पाउन सकेको स्थानीय बासिन्दा सिँचाइका साथै जलविद्युत् उत्पादन हुने भएपछि निकै खुसी भएको आयोजनाका वरिष्ठ समाजशास्त्री गौरीलाल उपाध्यायले बताउनुभयो ।
    बर्सेनि कर्णाली, मोहना र पथरी नदीले कटान र डुबानको समस्याले यहाँका बासिन्दाले निकै पीडित हुनुपरेको थियो । हाल आयोजनाले कर्णाली नदीको पुल छेउबाट दक्षिण ३१ किलोमिटरसम्म पक्की तटबन्ध गरेको छ । जसले गर्दा खेतीयोग्य जमिन कटान र वर्षात्को डुबान नियन्त्रण भएको छ । डुबान रोकिँदा यहाँको खेतीयोग्य जमिन झन उत्पादनशील भई बहुबालीबाट उत्पादन वृद्धि हुन थालेको छ । वरिष्ठ समाजशास्त्री उपाध्यायले भन्नुभयो, सिँचाइ आयोजना निर्माणसँगसँगै सम्पन्न गरिएका तटबन्ध, वनजङ्गल संरक्षण, २४ वटा पुल निर्माण, कृषि सडकको स्तरोन्नति, उन्नत कृषि तथा पशुपालन लगायतका सामाजिक कार्य देखेर स्थानीय बासिन्दाले सहयोगी भूमिका निर्वाह गरिरहेका थिए । त्यसैमा जलविद्युत् समेत उत्पादन हुने भएपछि स्थानीय बासिन्दामा थप उत्साह थपिएको छ ।

    – गोरखापत्र