दाहाल-उद्योगी भेट ‘भारतबाट ५० मेगावाटका लागि पहल गर्छु’

    2545

    विराटनगर, वैशाख १३ –
    prachandएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वाञ्चल क्षेत्रका लागि भारतसँग थप ५० मेगावाट बिजुली ल्याउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । दुई दिनपछि हुने आफ्नो भ्रमणका क्रममा यसबारे भारतीय उच्च सरकारी तहमा यसबारे कुरा गर्ने प्रतिबद्धता जनाएका हु्न् । भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा पूर्वका उद्योगी व्यवसायीसँगको भेटमा दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेश जाजु नेतृत्वको टोलीसँगको भेटमा उनले पूर्वको उद्योग क्षेत्रका समस्यालाई पनि आफ्नो भ्रमणको एजेन्डा बनाउने बताएका थिए । कोसीपूर्वमा भएको बढ्दो लोडसेडिङका कारण सुनसरी- मोरङ औद्योगिक क्षेत्र प्रभावित छ । उद्योगमात्र होइन सर्वसाधारण पनि लामो समयसम्मको लोडसेडिङ खेप्न बाध्य छन् । टोलीले कोसी कटानपछि यस क्षेत्रमा भारतबाट ५० मेगावाट मात्र विद्युत् आपूर्ति हुँदा उद्योग व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै दाहालको ध्यानाकर्षण गराएका थिए । कोसी कटानअघि भारतबाट सय मेगावाट विद्युत् आपूर्तिका लागि सम्झौता भएको थियो । बाढीले बिजुलीका टावर ढलेपछि भारतको कटैयाबाट ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको टोलीका सहभागी मोरङ व्यापार संघका महासचिव प्रकाश मुन्दडाले बताए । बिजुली समस्याले उद्योग व्यवसाय क्षेत्र लामो समयदेखि प्रभावित भएको भन्दै यसअघि पटकपटक विभिन्न निकायमा ध्यानाकर्षण गराउँदा समाधान भएको भन्दै टोलीले भारतका उच्च- अधिकारीसँग यसबारे कुरा गर्न आग्रह गरेको थियो । ‘हामीले पहिलेकै जस्तो सय मेगावाट बिजुली नियमित आउने व्यवस्थाको पहलका लागि आग्रह गर्‍यौं,’ मुन्दडाले भने, ‘उहाँले त्यसका लागि सम्झौता गर्ने वातावरण मिलाउन आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभएको छ ।’ भारतको कटैयादेखि सुनसरीको कुशाहासम्मको करिब १५ किलोमिटर दूरीमा ‘सिंगल लाइन’ रहेकाले पनि पूर्व क्षेत्रमा ७५ मेगावाटभन्दा बढी विद्युत् आपूर्ति हुन नसकेको उद्योगीको भनाइ छ । उक्त लाइनलाई ‘डबल सर्किट’ मा लैजान अविलम्ब निर्माण कार्य हुनुपर्ने, नेपालबाट उत्पादन हुने विद्युत् पूर्व क्षेत्रमा आपूर्ति हुन नसकिरहेकाले ढल्केबर-खिम्ती लाइनमा ६ वटा टावर राजनीतिक कारणले निर्माण हुन नसकिरहेको भन्दै टोलीले ध्यानाकर्षण गराएको थियो । ती टावर निर्माण गरिनुपर्ने, भारतको कटैयाबाट आपूर्ति भइरहेको विद्युत् कोसीपूर्व मात्र आपूर्ति गर्नुपर्ने, मोरङको बाँसबारीस्थित मल्टिफ्युल सञ्चालन गरी विद्युत् आपूर्ति गर्नुपर्नेलगायत विषयमा पनि ध्यानाकर्षण गराइएको संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार सारडाले बताए । दाहालले चीन भ्रमणका क्रममा देशको आर्थिक विकासका लागि गरेको पहल फलदायी भएको भन्दै टोलीले भारत भ्रमण पनि सकारात्मक र फलदायी होस् भन्ने आग्रह गरेका थिए । ‘तपाईंहरूसँगको भेटमा मैले पूर्व क्षेत्रको समस्याबारे धेरै जान्ने मौका पाएँ,’ दाहालको भनाइ उद्धृत गर्दै जाजुले भने, ‘भारत भ्रमणका बेला पनि म कुरा राख्नेछु ।’ सय मेगावाट बिजुली ल्याउन भारतसँग चाँडै सम्झौता गरिने आश्वासन उनले दिएको जाजुले बताए । हाल कोसीपूर्व १ सय ८० मेगावाट विद्युत्को आवश्यकता छ । भारतको कटैयाबाट ५० देखि  ७५ मेगावाटसम्म विद्युत् आपूर्ति हुने गरेको र करिब १ सय ५ मेगावाट विद्युत् कम भएको उद्योगीले बताउँदै आएका छन् । पूर्व क्ष्ाेत्रमा घरेलुतर्फ दैनिक १२ घन्टा र औद्योगिक फिडरमा सातामा ९८ घन्टा लोडसेडिङ भइरहेको छ । बिजुली अनियमितताले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका साढे पाँच सयभन्दा बढी उद्योगका साथै पूर्वका अन्य क्ष्ाेत्रका उद्योग र सर्वसाधारण मर्कामा परिरहेका छन् ।

    Source : Kantipur