तल्लो मोदीको निर्माणकार्य सुरु

    2433

    पर्वतको मोदीखोलामा फेरि अर्को जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु गरिएको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको हो । निजी क्षेत्रको मनाङ टे«ड लिङ्कले निर्माण गर्न लागेको आयोजनाको काम चुवा गाविसको आम्बोटस्थित अटिड नम्बर १ बाट सुरुङ्ग निर्माणबाट सुरु भएको छ ।
    २० मेगावाट क्षमताको यस आयोजना२०७२ सम्ममा सम्पन्न गर्ने आयोजनाले जानकारी दिएको छ । आयोजनाको कुल लागत ३ अर्ब ६० करोड अनुमान गरिएको छ ।
    नेपाल इन्भेस्टमेन्ट बैंक लगायत अन्य ११ बैङकले सो आयोजनामा ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको सुरुङको लम्बाइ करिब ४ दशमलव ५ किलोमिटर रहेको छ । आयोजना पर्वतको चुवा, तिलाहार, दुर्लुङ, बाजुङ तथा देउपुर गाविसमा अवस्थित छ ।
    आयोजनाको करिब ४ दशमलव ५ किलोमिटर लामो सुरुङ्गलाई चार भागमा बाँडेर खन्ने काम सुरु गरेको साइड इन्र्चाज प्रवीण श्रेष्ठले जानकारी दिए । मुख्य सुरुङ निर्माणका लागि पहिले सहायक सुरुङ्ग निर्माण गर्नुपर्ने भएकाले चार स्थानबाट सहायक सुरुङ्ग खन्ने काम थालिएको इन्चार्ज श्रेष्ठले जानकारी दिए ।
    आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो । हालसम्म जग्गा खरिद, कर्मचारी आवास गृह तथा मज्दुर आवासगृह निर्माणको काम सकिएको छ । आयोजनाले अहिले सम्म १ सय २० रोपनी जमिन खरिद गरिसकेको साइड इन्चार्ज श्रेष्ठले बताए । पातीचौरमा आयोजनाको इन्टेक निर्माणस्थलमा पर्ने प्रवेशद्वारमा पर्ने जमिन खरिद तथा चुवा गाविसको सुन्दरेपाखा सामुदायिक वनसँग सम्झौता गर्न भने बाँकी छ ।
    विद्युत् खरिद सम्झौता गर्न ढिलाइ भएकाले  काममा पनि ढिलो भए पनि अब समयमै पूरा हुने मनाङ टे«ड लिङ्कका कार्यकारी निर्देशक ज्ञानेन्द्रलाल प्रधानले बताए । “आयोजना निर्धारित समयभित्रै सम्पन्न हुनेछ,” उनले भने । आयोजनामा लगानी गर्नेलाई कम्तीमा ८ प्रतिशत प्रतिफल दिइने प्रधानले बताए । स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर वितरण गरिने पनि उनले जानकारी दिए ।

    प्रस्तुति: कारोबार