तनहुँ जलविद्युत्मा नयाँ टेन्डरको सम्भावना

1325

तनहुँ, माघ १८ गते । तनहुँ जलविद्युत् आयोजनाको काम पाएको इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता तोड्न लगानीकर्ता एसियाली विकास बैङ्क (एडीबी)ले सुझाव दिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट हात झिकेर विवादमा आएको अपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)ले तनहुँ जलविद्युत् आयोजनाको काम पनि गर्ने सम्भावना न्यून रहेको अवस्थामा एडीबीले उक्त सुझाव दिएको आयोजनाका प्रबन्धसञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो ।

निर्धारित समयभित्र काममा नफर्किए सम्झौतामा भएको प्रावधानअनुरूप ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने छ, थिकेले भन्नुभयो, सीएमसी काममा फर्कने सम्भावना न्यून रहेको छ । सीएमसीले बेइमानी गर्ने हो कि भन्नेमा तनहुँवासी सशङ्कित भएका छन् तर सम्झौता तोडेर अर्को कम्पनीसँग नयाँ सम्झौता गर्न सकिने हुँदा जिल्लावासीलाई नआत्तिन आयोजनाले आग्रह गरेको छ ।

तनहुँ जलविद्युत् आयोजनाको बाँध (ड्याम) निर्माणलगायतको कामको जिम्मा लिएको सीएमसीको मेलम्ची आयोजनासम्बन्धी मुद्दा अदालतमा परेसँगै आयोजनाको काम पनि अवरुद्ध छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य निर्माणको ठेकेदार सीएमसी वित्तीय सङ्कटमा फसेर भाग्न लागेको आरोपमा अदालतमा परेको उजुरीको फैसला नआउँदासम्म जलविद्युत् आयोजनाले माघ २५ (फेब्रुअरी ८) कुर्नु परेको आयोजनाका प्रबन्धसञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो । फैसला माघ २५ गते हुनेहुँदा सीएमसी काममा फर्किने या नफर्किने अहिले नै केही भन्न सक्ने अवस्था नरहेको प्रबन्धक थिकेले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएकाले आयोजना स्थलमा आउन नसक्दा मौज्दातको काम ठप्प भएको आयोजनाले जनाएको छ । आयोजनाको प्रवद्र्धक तनहुँ जलविद्युत्ले अदालतको पैmसलापछि सीएमसीलाई काममा फर्कन समय दिएको छ । सो समयभित्र सीएमसी काममा नफर्किए सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने आयोजनाका प्रबन्धसञ्चालक थिकेले बताउनुभयो । इटालियन कम्पनी सीएमसीले आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपियाँ ठेक्का सम्झौता गरेको छ । ठेक्का सम्झौता भए पनि आयोजनाले सीएमसीलाई परिचालन (मोबिलाइजेसन) पेस्की भने दिएको छैन । सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदार लगायत अन्य आपूर्तिकर्तालाई समेत भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

ठेक्का तोडिएपछि फेरि नयाँ प्रक्रिया शुरु गर्दा समय लाग्ने भएपछि दोस्रो लटको ठेकेदारको पनि काम प्रभावित हुने सम्भावना छ । दोस्रो चरणको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँँग ठेक्का सम्झौता भइसकेको छ । सिनोले आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपियाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखेर ठेक्का सम्झौता गरिएको भए पनि यो कार्यतालिका प्रभावित हुनेभएको छ । लट ३ अन्तर्गत विद्युत्गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारण लाइनको कामको ठेक्का भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे कुल लागत ५० अर्ब ५० करोड डलर छ । यो लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत रहेको छ । एडीबीले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआईबी)ले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी छ । आयोजना सन् २०२२ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

स्रोत:गोर्खापत्र